काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) संविधानको मर्मविपरीत साबिकको जस्तै केन्द्र (संघ) सरकार मातहतको राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्ने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय, स्थानीय तह, प्रदेश र केन्द्रबाट गरी एसईई सञ्चालन गर्न सकिने चार विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।
मन्त्रिपरिषद् बैठकले साबिकको जस्तै केन्द्रबाट बोर्डले परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार एसईईका लागि प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी बोर्डले साबिकबमोजिम नै सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्न प्रबन्ध मिलाउने निर्णय भएको बताए ।
संविधानले माध्यमिक शिक्षासम्मको सञ्चालन अधिकार स्थानीय सरकारलाई दिएको छ । तीन तहको सरकारको अधिकार क्षेत्र बाँडफाँटमा पनि एसईईलाई प्रदेश मातहत राखिएको छ । शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश तहबाट सञ्चालन गर्नुपर्ने उल्लेख छ । शिक्षाविद्हरूले उक्त परीक्षालाई प्रदेश वा स्थानीय तहले सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।
संघीय सरकारले भने शिक्षाको अधिकार संविधानअनुसार प्रदेश र स्थानीय तहमा दिन मानेको छैन । कोरोना महामारीका कारण पछिल्लोपटक विद्यालयले सञ्चालन गरेको परीक्षाकै आधारमा नतिजा सार्वजनिक गरिएको थियो । विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्न मन्त्रिपरिषद्ले स्वीकृत दिएको थियो ।