काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अभिषेक रिजाल भारतको आइलिग क्लब आइजोल एफसीमा आबद्ध भएका छन्। आई लिगमा मोहम्मेडन स्पोर्टिङबाट खेलिरहेका अभिषेक सोही लिगको आइजोल एफसीतर्फ लागेका हुन् ।
जारी लिगमा छैठौँ स्थानमा रहेको मोहम्मेडनबाट अभिषेकले पाँचौँ स्थानमा रहेको आइजोलसँग अनुबन्धित हुने निर्णय सार्वजनिक गरे । सोमबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै अभिषेकले लिगमा बाँकी रहेका खेलहरु मिजोरमको क्लबबाट खेल्ने निर्णय सार्वजनिक गरेका हुन् । भारतीय फुटबलमा धेरै वर्ष शीर्ष श्रेणीका रुपमा रहेको आई लिगमा हाल छैठौँ चरणका खेलहरु भइरहेका छन् ।
अभिषेक बाहेक आइ लिगमा अन्य नेपाली खेलाडी पनि खेलिरहेका छन् । नेपाली टोलीका गोलरक्षक किरण चेमजोङ पन्जाब फुटबल क्लबबाट खेलिरहेका छन् भने मिडफिल्डर प्रकाश बुढाथोकी नेरोका एफसीसँग हालै आबद्ध भएका छन् ।