काठमाडौं । नेपालमा पहिलो चरणमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन्। खोप लगाउने पहिलो चरणको अभियान शनिबारबाट सकिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८ सय ५७ जनालाई दिइएको छ।
जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।
सरकारले यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो। कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउने उद्देश्यअनुसार प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइएको हो। पहिलो चरणका लागि ल्याइएका बाँकी खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयले जनाएको छ।
नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो ।