गोरखा । लाप्राकका स्थानीयले यस वर्ष पनि मकै विवाह पर्व मनाएका छन् ।

त्यहाँका स्थानीयको मौलिक पर्व, मकै विवाह यस वर्ष भने अलि खल्लो रह्यो । ‘मकै गाड्ने दिन देखिनै पानी प¥यो । माथि डाडाँमा हिउँ आयो, चिसो बढ्यो,’ स्थानीय मारसिं गुरुङले भने, ‘जाडो बढेका कारण अलि गाह्रो भयो । तर मकै विवाहमै पानी परेकाले हामी सबै खुसी भएका छौ ।’
त्यहाँको मुख्य खाद्यबालीको रुपमा रहेको मकैको बिहे गरिदिएपछि उब्जनी राम्रो हुने, असिना, खडेरी तथा अन्य रोगकिराको प्रकोप नरहने विश्वास छ । मकै बिबाहकै दिन पानी परेकाले यस वर्ष बाली नाली राम्रो हुने भयो भन्दै स्थानीय खुसी भएका छन् । हरेक वर्ष माघ १५ गते देखि फागुन १५ गतेसम्म साइत जुराएर मकैको बिवाह गर्ने प्रचलन छ ।
धार्चे गाउँपालिका–४ लाप्राकका स्थानीयले शनिवार बाजागाजा सहित मकैको बिवाह गरिदिएका हुन् । ज्योतिषीले हेराएको साइत अनुसार पुरानो गाउँमा भेला भएका स्थानीयहरुले विधि पूर्वक मकै बिहे सम्पन्न गरेका छन् ।
लाप्राकको ठुँलो आँगनबाट बेहुला अन्माएर निस्केको जन्तीले बेहुली लिएर गाउँ परिक्रमा गरेको थियो । मकै बिवाह लाप्राकको प्रमुख चाड हो । बेहुला र बेहुली पक्षमा विभाजित भएका स्थानीयहरु एक ठाउँमा भेला भएर नाँचगान गर्छन् । हरेक घरबाट लगिएको एक/एक घोगा मकै एकै ठाउँमा जम्मा गरिन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ ।
बिउ मकैलाई त्यसरी चोख्याएपछि कीरा, हिउँ र असिना पानीबाट जोगिने स्थानीयहरु बताउँछन् । साझ घाटु नाँचसँगै यस वर्षको मकै विहे सकिएको छ । चिसो बढेका कारण नाचगान कार्यक्रम भने प्रभावित भएको स्थानीयहरुले बताएका छन् ।