गोरखा । नेपाली सेनाले आगलागी नियन्त्रणको लागि कृत्रिम घटना अभ्यास गरेको छ । रणसिंह दल गण गोरखाले बिहाबार एक कार्यक्रम गरी आगलागी हुन सक्ने अबस्था, भइसकेपछि नियन्त्रणका लागि गर्नुपर्ने काम, घाइतेको उद्धार, उपचार र राहत वितरणको कृत्रिम अभ्यास गरेको हो । ‘यदी यस्तो विपद् आइलाग्यो भने हामीले कसरी काम गर्नुपर्छ भनेर कृतिम रुपमा अभ्यास गरेका हौं,’ नेपाली सेनाका गणपती उज्जल केसीले भने, ‘यसले भइपरिआउने आगलागी नियन्त्रण गर्न र जनधनको क्षति जोगाउन सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।’

जिल्ला सदरमुकामको रानीपोखरी ब्यारेक भित्र विभिन्न अस्थायी संरचना बनाएर घटना अभ्यास गरिएको हो । घरमा आगो लाग्दा, विद्युत सट् भएर आगो लाग्दा र पेट्रोलियम पदार्थका कारण आगो लाग्दा कसरी निभाउने भन्ने कुरा सेनाले अभ्यास गरी देखाएको थियो । यसैगरी छिमेकी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, रेडक्रस एवं विभिन्न सामाजिक संघ सस्था, सञ्चारकर्मीको भुमिकालाई पनि नाटकीय रुपमा प्रस्तुत गरिएको थियो । आगो नियन्त्रणका लागि गरिने घरेलु उपाया देखि, आधुनिक प्रविधि र दमकल समेतको प्रयोग गरिएको थियो ।

घटना स्थलमा घाइतेको प्राथमिक उपचार, गम्भीर घाइतेलाई एम्बुलेन्स मार्फत अस्पताल लैजाने र परिवारका सदस्यहरुलाई सान्तोना दिने काम पनि नाटकीय रुपमा गरिएको थियो । घटनापछि विपद् व्यवस्थापन समिति र सामाजिक संघ संस्थाले गर्ने राहत एवं पुर्नस्थापना कुरालाई पनि कृतिम घटना अभ्यास मार्फत देखाइएको थियो ।

नेपाली सेनाको रणसिंह दल गण गोरखा, शसस्त्र प्रहरी बल गोरखा, नेपाल रेडक्रश सोसाइटी गोरखा र गोरखा नगरपालिका लगायतको साझेदारीमा उक्त कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ । कृतिम घटना अभ्यास हेर्न जिल्लाका सरोकारवालाहरु, विद्यार्थी र रेडक्रश लगायत विभिन्न सामाजिक संघसस्थाका प्रमुख एवं प्रतिनिधिहरु समेत पुगेका थिए ।


