गोरखा । स्थानीय तहको निर्वाचनपछि जिल्लामा सबैभन्दा पहिला ई–विडिङ (विद्युतिय प्रणाली) मार्फत टेण्डर आह्वान गर्ने पालिका थियो शहिद लखन गाउँपालिका । आ.व. २०७४/७५ मा एक वडा कार्यालयको भवन निर्माणका लागि ई–विडिङ गरेर सुरुवात गरेको शहिद लखनले त्यसयता अधिकांश आयोजनाका टेण्डरहरु समेत सोही प्रणाली मार्फत नै गर्दै आएको थियो ।
२०७३ सालको अन्त्यतिरको कार्यपालिका बैठकले गाउँपालिकाबाट सञ्चालन हुने सबै योजनाहरुको टेण्डर प्रकृया ई–विडिङ मार्फत गर्ने र सो प्रणालीलाई नै प्राथमिकता दिने निर्णय गरेको थियो । तर पछिल्लो समय पालिका आफैले गरेको निर्णयलाई लत्याउदै ‘हार्ड कपी’ टेण्डर मार्फत केहि योजनाहरुको ठेक्का लगाउने प्रकृयामा रहेको खुलासा भएको छ ।

गत पुष ९ गते नौ वटा सडक स्तरोन्नतीका लागि ‘हार्ड कपि’ प्रकृया मार्फत शहिद लखन गाउँपालिकाले सुचना निकाल्यो । जसमा ५ वटा २० लाख रुपैयाभन्दा कम र बाँकी ४ प्याकेज २० लाखभन्दा माथिका रहेका छन् । यी सबै प्याकेजमा ‘हार्ड कपि’ लिएर नै निर्माण कम्पनीलाई पालिकाको कार्यालयबाट टेण्डर फारम बिक्रि गरियो ।
२० लाख भन्दा माथीमध्येका विज्ञापन नम्बर १४ को बर्चुलिथान रामभञ्ज्याङ बुंकोटघाट सडक स्तरोन्नतीका लागि २१ लख ५५ हजारको प्याकेजका लागि १७ निर्माण कम्पनीले टेण्डर फारम खरिद गरेका थिए । त्यस्तै १५ को गुर्दुम बक्राङ सडक स्तरोन्नतीका लागि २५ लाख ८५ हजार को प्याकेजमा १७ वटा फारम बिक्रि भएको थियो ।
यसैगरी १६ नम्बरको रामशाहघाट बनौती धानबारी मनकामना जुम्लिचौतारा तिनमाने घैरुङ सडकका लागि ४३ लाख १० हजारको यस प्याकेजका लागि १६ निर्माण कम्पनी र १७ नम्बरको गैरीचौतरा जोगीडाँडाँ देउराली छबिसे बराहफाँट हुदै खाब्दीभञ्याङ सडकको २१ लख ८८ हजार प्याकेजका लागि १५ वटा कम्पनीले टेण्डर हाल्न फारम खरिद गरेका थिए ।
९ मध्ये ठूला ४ प्याकेजका योजनामा मात्रै पालिकाको कार्यालयबाट ६५ वटा टेण्टरका फारम बिक्रि भएको थियो । तर ४ योजनामा १/१ गरी जम्मा ४ वटा मात्रै निर्माण कम्पनीको फारम दाखिला भएको गाउँपालिकाका योजना शाखाका सानुकाजी बस्नेतले बताए । जसमा विज्ञापन नम्बर १४ को प्याकेजमा गोरखाकाली ब्रदर्श कन्ट्रक्सन काठमाण्डौ, १५ को प्याकेजमा बर्चुल निर्माण सेवा गोरखा नगरपालिका ११, १६ नम्बर प्याकेजमा कल्याण निर्माण सेवा एण्ड सप्लायर्स गोरखा र १७ नम्बरको प्याकेजमा कृतिका निर्माण सेवाको मात्रै कागजात दाखिला भएको बस्नेतको भनाई छ ।
तर ३ बर्षअघिदेखि १० लाख माथीका सबै योजनामा ई–विडिङ मार्फत नै टेण्डर गर्ने गरेको शहिद लखनले यी ९ प्याकेजमा मात्रै किन ‘हार्ड कपि’ प्रणाली अपनायो ? धेरैको प्रश्न र आशंका यसैमा छ । गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर भन्छन ‘त्यो टेण्डर निकाल्ने बेला हाम्रा कम्प्युटरका प्राविधिक कर्मचारीहरु परिक्षाका लागि बिदामा हुनुहुन्थ्यो, केहि प्राविधिक र ब्यवहारिक जटिलतालाई हेरेर हार्ड कपि मागेका हौ’ उनले थपे ‘बोलपत्र मार्फत गर्ने भन्ने हो, ई–विडिङ र हार्ड कपिमा कुनै फरक पर्दैन, बदमासी गर्ने हाम्रो नियत होइन ।’
तर यसअघि १० लाख माथीका सबै योजनाहरु ई–विडिङबाटै गर्दै आएको र यसमा भने हार्ड कपि नै मागिएको सव इन्जिनियर मेघनाथ यादवले बताए । यता प्रमुख प्रशासकिय अधिकृत जिवन बहादुर आलेमगर भने सडकको योजना भएकाले ई–विडिङ प्रणाली नअपनाइएको बताउछन् । ‘हाम्रो प्राथमिकता ई–विडिङ नै हो, तर कहिलेकाही केहि ब्यवहारिक जटिलता पनि आउने रहेछन्’ उनले भने ‘सडकको सानो सानो प्याकेज भएकाले यो टेण्डरमा हार्ड कपि नै मागिएको हो ।’
यता कपिपयको भने ‘सेटिङ’ मा टेण्डर गरिएकाले हार्ड कपि प्रकृया अपनाइएको दावी गर्छन । ‘यो सरासर गलत हो, यसमा गाउँपालिकाको मिलेमतो देखिन्छ’ नाम नबताउने सर्तमा एक निर्माण कम्पनीका सञ्चालनले भने ‘योजनाको रकमको प्रशेण्ट बाँडेर सबै सेटिङ मिलाइएको छ ।’
२० लाख भन्दा माथी बाहेकका अन्य ५ प्याकेजमा समेत सोही अनुसार कार्यकर्तालाई टेण्डर पार्ने गरी पालिकाले सेटिङ मिलाएको उनको दावी छ ।