काठमाडौं । ‘सुनगाभा’, ‘फन्को’, ‘बाटो मुनिको फूल २’का निर्देशक सुवर्ण थापाले नयाँ फिल्म ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्ने भएका छन् । सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने र निश्चल बस्नेत समेत लिएर उनले यो फिल्म बनाउन लागेका हुन् । केही दिनअघि लोकेशन समेत हेरिएको फिल्मको छायाँकन २६ माघबाट सुरु हुने बताइएको छ ।
निर्देशक थापाकै निर्माण रहेको फिल्मको सबैपक्षको जानकारी भने केही दिन पछि आयोजना हुने फिल्म निर्माण घोषणा कार्यक्रममा सार्वजनिक गरिनेछ । अभिनेता सौगात मल्लको समेत निर्माण सहकार्य रहने केही हप्तादेखि वर्कसप समेत चलिरहेको छ ।
‘दि सेक्रेट्स अफ राधा’ मार्फत पहिलो पटक सौगात, दयाहाङ, खगेन्द्र र निश्चल एकसाथ पर्दामा देखिन लागेका छन् । एकै फिल्मका ४ हिरो दर्शकका लागि नौलो स्वाद भने पक्कै हुनेछ ।