गोरखा । उत्तरी गोरखाको चुमनुव्री र धार्चे गाउँपालिकामा हेलिकप्टर मार्फत कोरोना भाइरस बिरुद्धको खोप लगिने भएको छ । सो क्षेत्रका स्वास्थ्यकर्मीलाई लगाउनका लागि एक सय डोज खोप बिहीबार हेलिकप्टरमार्फत ढुवानी गरिने स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।

गोरखा अस्पतालमा खोप केन्द्र स्थापना गरेर स्वास्थ्य कार्यालयले माघ १४ देखि १८ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो । तर भौगोलिक विकटताका कारण दुई पालिकाका स्वास्थ्य सेवामा प्रत्यक्ष संलग्न अधिकांशले स्वास्थ्यकर्मीले खोप लगाउन पाएनन् । उनीहरुलाइ लक्षित गरी चुमनुव्रीमा तीन वटा र धार्चेमा एउटा खोप केन्द्र स्थापना गरी माघ २३ गते खोप अभियान सञ्चालन गरिने खत्रीले जानकारी दिए ।
चुमनुव्रीको लिहीमा ३०, चुम्लिङमा २० र फिलिममा १८ जनालार्इ खोप लगाइने छ । त्यस्तै धार्चेको केन्द्र माछाखोलामा ५० जनालाई लक्षित गरी उक्त केन्द्रमा खोप र आवश्यक चिकित्सक बिहीबारसम्म पठाइसक्ने खत्रीले बताए ।
सामागाउँ, ल्हो, प्रोक र बिहीलाई समेट्ने गरी लिहीमा, छेकम्पार र चुम्चेतलाई समेट्ने गरी चुम्लिङमा र सिर्दिवासको फिलिममा गरी तीन वटा खोप केन्द्र स्थापना गरेर छुटेकाहरुलाइ खोप लगाउने तयारी रहेको खत्रीको भनाइ छ ।
हेलिकप्टर चार्टरका लागि लाग्ने खर्च उत्तरी क्षेत्रको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको माउण्टेन चाइल्ड नामक संस्थाले व्यहोर्ने बताइएको छ ।
सोही दिन गोरखा अस्पतालमा पनि खोप केन्द्र स्थापना गरेर अभियानमा छुटेका विभिन्न स्थानीय तहका स्वास्थ्यकर्मीलाई खोप लगाइने उनले जानकारी दिए । माघ २४ गते बाँकी रहेको खोप र सामग्री गण्डकी प्रदेशमा पठाइने उनले बताए ।