• बिहिबार, साउन २१ २०८३

बूढीगण्डकी प्रभावितका समस्या लिएर जनप्रतिनिधी पुगे उर्जामन्त्री भेट्न


बुधबार, माघ २१ २०७७
805
Shares

गोरखा । बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरुको समस्या बारे उर्जा मन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

डुबान क्षेत्रका साँसद, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष लगायतको टोलीले मंगलबार उर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रभावितहरुका समस्या बारे जानकारी गराएका हुन् । ‘आयोजनाको काम पनि सोचे अनुसार भएको छैन, प्रभावितका समस्या पनि जिउँकातिउ छन’ बैठकमा सहभागी गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले भने ‘आयोजना बन्नु प¥यो तर प्रभावितका समस्या पनि समाधान हुनु प¥यो भनेर हामीले उर्जा मन्त्रीको ध्यानाकर्षण गराएका हौं ।’

बैठकमा विशेष गरेर दुई वटा बिषयलाई प्राथमिताका साथ उठान गरिएको अर्का सहभागी शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले बताए । आयोजनाका डुबान क्षेत्रभित्र रहेका घर गोठ लगायत भौतिक संरचनाको क्षतिपूर्ति मुल्यांकन गरी भुक्तानी गर्दा आयोजनाको स्विकृत इआइए प्रतिवेदनमा भएको अवस्था अनुसार ह्रासकट्टी नगरी मुआब्जा दिनुपर्ने माग गरिएको उनले बताएका छन् ।

फिल्डबुकमा भएको तर लालपूर्जा नभएका प्रभावितलाई समेत क्षतिपूर्ति दिलाउनका लागि बैठक केन्द्रित रहेको उनको भनाई छ । ‘छलफलमा धेरै कुरा भयो तर मुख्य दुई वटा एजेण्डाहरु हामीले मन्त्री ज्यू समक्ष राख्यौ’ अध्यक्ष थापामगरले भने ‘घरगोठको ह्रास कट्टी गर्दा धेरै जनाले मुआब्जा नै नपाउने अवस्था छ, त्यसैले त्यो कट्टी गर्न हुदैन भन्ने हो र अर्को लगतमा देखिएको तर लालपूर्जा नभएकाहरु पनि छन् त्यस्तालाई पनि मुआब्जा दिनुपर्छ भन्ने मुख्य माग हो ।’

आयोजना क्षेत्रभित्र करिब १ हजार ५ सय देखि २ हजार रोपनी फिल्डमा जग्गा देखिएको तर लालपूर्जा नभएको अवस्थामा रहेको बताइएको छ । त्यस्तै बुंकोटघाटमा रहेको भिमश्वर मन्दिर समेत डुवान क्षेत्रमा पर्ने भएकाले मन्दिर क्षेत्रको करिब १ सय ६ रोपनीको मुआब्जा र अर्को स्थानमा स्थानान्तरण गर्न समेत माग गरिएको अध्यक्ष थापामगरले बताए ।

छलफलका क्रममा उर्जामन्त्री रायमाझीले आफु आयोजनाको द्रुत गतिमा अघि बढ्नुपर्ने पक्षमा रहेको बताएका थिए । ‘आयोजनालाई मैले नजिकबाट नियालेको छु, समस्या र चुनौती धेरै छन, यसलाई हामीले चिरेर अघि बढ्न जरुरी छ’ उर्जामन्त्रीको भनाईलाई उदृत गर्दै बैठकमा सहभागी एक कर्मचारीले भने ‘प्रभावितलाई सुकुम्बासी बनाइनु हुदैन, उहाँहरुको उचित ब्यवस्थापन गर्न सरकार सकरात्मक छ ।’

छलफलमा गोरखा क्षेत्र नम्बर १ का प्रतिनधी सभा सदस्य हरिराज अधिकारी, नेपाली काँग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल, प्रभावित क्षेत्रका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

गोरखा र धादिङको सिमानामा रहेको बुढीगण्डकी नदीमा १२ सय मेगावटको जलायसयुक्त आयोजना बनाउने निर्णय भएको धेरै भयो । डुबान क्षेत्रमा पर्ने जमिनको मुआब्जा पनि वितरण भइसकेको छ । तर अहिलेसम्म आयोजना निर्माणको काम औपचारिक रुपमा अघि बढ्न नसक्दा प्रभावितहरु निराश भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार