गोरखा । कोरोना बिरुद्धको खोप लगाउने निर्धारण गरिएको समय सकिएको छ । १४ गते देखि १८ गतेसम्म कुल १ हजार ७८९ जनालाई खोप लगाउने स्वास्थ्य कार्यालयको लक्ष्य थियो ।

तर निर्धारित ५ दिनको अबधीमा जम्मा १ हजार ५० जनाले मात्र खोप लगाएको जिल्ला अस्पताल गोरखाले जानकारी दिएको छ । खोप लगाउनेमा पुरुषको तुलनामा महिला बढि देखिएका छन् । हालसम्म ७९६ महिला र २५४ पूरुषले कोराना विरुद्धको कोभिशिल्ड खोप लगाएको जिल्ला अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
अन्तिम दिन आइतबार ३१६ जनाले खोप लगाएका छन् । जसमध्ये २२२ महिला र ९४ पूरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ४७ जना कार्यालय सहयोगी र ७ जना एम्बुलेन्स चालकले पनि खोप लगाएका छन् । पहिलो चरणमा यहाँका १ हजार ७८९ जनालाई खोप लगाउने तयारी थियो ।
ती मध्ये १५ सय ८९ जना स्वास्थ्यकर्मी हुन्, अन्य भने शब व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालक रहेका छन् । कार्यगत व्यवस्थता, स्वास्थ्य सम्बन्धि समस्या र अन्य विभिन्न कारणले झण्डै ४० प्रतिशतले खोप नलगाएको देखिन्छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्यमंसेबिका, एम्बुलेन्स चालक, शबबाहन चालक, शब व्यवस्थापन खटिएका सुरक्षकर्मी, सरसफाई सहयोगीहरुलाई खोप लगाइएको हो । छुटेकाहरुलाई केही दिनपछि पुन खोप लगाउन समय दिइन बताइएको छ ।
जिल्लाका लागि पहिलो चरणमा २०१ भायल अर्थात २ हजार १० डोज (मात्र) खोप ल्याइएको छ । एक महिना पछि अहिले लगाइएका व्यक्तिहरुलाई पुन खोप लगाउनु पर्ने चिकित्सकहरुले बताएका छन् । जिल्लालाई प्राप्त करिब ४ हजार खोप मध्ये बाँकी दोश्रो चरणमा ल्याइनेछ ।