गोरखा । नेपाल युवा संस्था सञ्जाल (आयोन) र आईफेसको साझेदारीमा गोरखा एक दिने भर्चुअल अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ को कारण युवाहरुमा परेको विभिन्न समस्या तथा सवालहरुमा आयोनले देशको विभिन्न जिल्ला तथा प्रदेश स्तरमा गरेको विभिन्न छलफलको आधारमा तयार भएको सवालहरुको विषयमा छलफल भएको थियो ।
मुख्य गरि कोभिड १९ को कारण युवाहरुको मानसिक स्वास्थ्य, पहुचयुक्त, प्रभावकारी र समावेशी शिक्षाको अवस्था, आर्थिक अवसर, लैगिक हिसा, स्वास्थ्य तथा कोभिड १९को प्रतिकार्यमा युवाहरुको सहभागिता जस्ता सवालमा आयोनको कार्य समिति सदस्य खिमानन्द देवकोटाले वताएका थिए ।
कोभिड १९ को महामारीको विभिन्न असरहरूका कारण आत्महत्या जस्तो गम्भीर घटना लगायत अन्य मानसिक रोगहरू युवामा अत्याधिक बढेकाले यस विषयलाई प्राथमिकतामा राखी आइसोलेसन तथा क्वारेन्टाइन केन्द्रहरूमा रहेका युवा र पालिका भित्र रहेका युवाहरूको तथ्यांक संकलन तथा अद्यावधिकको साथ साथै तालिम प्राप्त दक्ष मनोसामाजिक परामर्शकर्ताले गोपनियता कायम गर्दै निःशुल्क अनलाइन वा अफलाइन मनोसामाजिक परामर्श सेवा प्रदान गर्नु पर्ने वताएका थिए ।
अपांगता भएका युवा मैत्री र पहुँचमा भएको सुनिश्चित गरि सेवा प्रवाह गर्नुपर्ने विषयमा उनले कार्यक्रममा जोड दिएका थिए । कोभिड–१९ सम्बन्धित प्रकाशित वा प्रसारित मिथ्या सूचना, दुस्प्रचार र घृणास्पद अभिव्यक्तिका कारण युवाको मानिसिक स्वास्थ्यमा असर पर्न सक्ने हुनाले यस्ता खालका सूचना, समाचार, लेख, आदिको नियमन गर्नुका साथै सचेतना कार्यक्रम आयोजना गर्न स्थानीय सरकारसंग माग गरिएको थियो ।
त्यसै गरी संघीय तहमा शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय, प्रदेश तहमा सामाजिक विकास मन्त्रालय र सम्बन्धित प्रत्येक पालिकाले समन्वय गरी पहुँचयुक्त माध्यमबाट जस्तैः साङ्केतिक भाषा, ब्रेललिपि, क्लोज क्याप्सनिङ्, सजिलै बुझ्न सकिने भाषामा कक्षाहरू सञ्चालन गर्ने, विदेशबाट फर्किएका युवा लगायत बेरोजगार युवाको तथ्यांक संकलन तथा अभिलेखीकरण आवश्यक रहेको समेत छलफल भएको थियो । कार्यक्रममा युवाहरुमा उपलब्ध ज्ञान, सिप, अनुभव तथा आवश्यकता सम्बन्धी अध्ययन गरी आवश्यक सिप विकास वा आयआर्जन हुने खालका तालिमहरू प्रदान गर्ने तथा रोजगारीको अवस्था सिर्जना गर्न युवालाई आफ्नो व्यावसाय संचालन गर्न नीजि र वित्तीय संस्थालाई सस्तो दरमा बिना धितोऋण दिन प्रेरित गर्न अनुरोध गरिएको थियो ।
साथै सरकार, नीजि तथा वित्तीय संस्थाले संचालन गरेका विविध योजना, ऋण, कोष तथा अनुदान सम्बन्धी जानकारीहरू एकीकृत गरी निश्चित र प्रभावकारी माध्यमबाट प्रसारण गर्ने । यस्ता सेवा लिनको लागि प्रत्येक पालिकामा रहेका ‘रोजगार संयोजक‘ लाई खटाई सो संयोजकले युवाहरूलाई योजना निर्माण, प्रस्तावना लेखन, बजेट निर्माण र सहि तरिकाले फारम भर्ने प्रकृया आदिमा तालिम प्रदान गर्न उचित व्यवस्था मिलाउन समेत माग गरेको थियो ।
कार्यक्रममा वोल्दै गोरखा नगरपालिकाको उपप्रमुख विना कुमारी श्रेष्ठले नगरपालिकामा युवा संजाल गठन गरी युवाहरुको नीति निर्माण तथा कार्यक्रममा नगरपालिका लागेको वताएको थिइन् । लघु उद्यम कोष, लैंिगक वजेट, वैदेशिक रोजगारीवाट फर्किएकाहरुको तथ्याँक संकलन जस्ता कामहरु गरी गोरखा नगरपालिकाले आफ्नो कार्यक्रम आरम्भ गरि सकेको बताएकी थिइन ।
उनले महिला उद्यमशिल कोष तथा साना व्यावसायिले व्यावसायिक करमा नगरपालिकाले २५ प्रतिशत रकम छुट दिई कामलाई सहजीकरण गरिरहेको वताउनु भएको थियो । कार्यक्रममा गोरखा विभिन्न क्षेत्रवाट २५ जना भन्दा वढिको सहभागिता रहेको थियो ।