गोरखा । गोरखा नगरपालिकामा महिला डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी ७ दिने डकर्मी तालिम सुरु भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरमा महिला डकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सुरु भएको हो ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले सहिजकरण गरेको तालिममा सुरक्षित अवास निर्माणका लागि प्रारम्भिक स्तर देखि नै तालिम दिइनेछ ।
१० जना महिलाको सहभागिता रहेको तालिममा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि विभिन्न प्रविधिको प्रयोगात्मक सहित सैद्धान्तिक अभ्यास गराईने परियोजनाका जिल्ला इन्जिनियर विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
तालिमका क्रममा परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले निजी आवास पुनर्निर्माणमा महिला डकर्मी समेत अब्बल रहेको र क्षमता अभिवृद्धिका लागि मद्दत मिल्ने भन्दै जिविकोपार्जनको माध्यम बनाउन आग्रह गरे ।
तालिमको वडाध्यक्ष रामबाबु बोगटीले उद्घाटन गरेका हुन ।
परियोजनाले तालिममा ढुंगामाटोको गारो, इँटाको गारो सिमेन्ट लगायत विभिन्न प्रविधिका विषयमा अभ्यास गराउने छ ।
यसअघि, परियोजनाले पालुंगटार नगरपालिकामा समेत भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी ७ दिने महिला डकर्मी अभिमूखिकरण तालिम सञ्चालन गरेको छ ।