गोरखा । आइतबार बिहान साढे ९ बजे नै शहिद लखन गाउँपालिका ४ ताक्लुङका आशिक तिवारी नागरिकता बनाउन वडाको सिफारिस बोकेर जिल्ला प्रशासन कार्यालय पुगे । बुवा अर्जुन बाबु तिवारीका साथमा आशिक नयाँ नागरिकता बनाउन भन्दै प्रशासन पुगेका थिए ।
कार्यालय खुल्नासाथ नागरिकता बनाउन आवस्यक सम्पूर्ण कागजात पेश समेत गरे । २०५२ साल साउन ५ गते जन्मेका आशिकले २५ बर्षसम्म किन नागरिकता लिएनन भन्ने प्रश्न उठ्यो । त्यसपछि फाइल सिधै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको टेबलमा पुग्यो ।
लगत्तै तिवारी बाबु छोरा दुवैलाई बोलाएर प्रजिअ भट्टराईले सोधपुछ गरे । त्यसअघि नै प्रशासन कार्यालयमा तिवारीका बाबुछोराले फर्र्जि कागजात पेश गरी नागरिकता लिदैछन भन्ने गोप्य सूचना पुगिसकेको थियो ।

प्राप्त सूचना र सोधपुछका आधारमा उनिहरु झनै शंकाको घेरामा तानिए । त्यसपछि खुल्यो, उनिहरु झण्डै १५ बर्षअघि नै गोरखाबाट चितवन बसाई सराई गरिसकेका रहेछन् ।
‘उहाँहरु आउनुअघि नै हामीलाई सुचना आइसकेको थियो, कागजात हेरेर हामीले उहाँहरुलाई सोधपुछ ग¥यौ, बसाई सरेको कुरा उहाँहरुले स्विकार गरिसक्नुभयो, अरु पनि शंका गर्ने अनेकौ ठाउँहरु छन’ प्रजिअ भट्टराईले सिभिलखबरलाई भने ‘कागजात हामीले नियन्त्रणमा लिएका छौ, थप अनुसन्धान चल्दैछ ।’
बिषय बसाई सराईको मात्रै थिएन । उनिहरु लामो समयदेखि बेल्जियममा बस्दै आएको र केहि बर्ष यता सोही देशको नागरिक समेत भइकेको बिषय समेत बाहिर आयो ।
‘उहाँहरु १५ बर्षअघि चितवन जानुभएको रहेछ, त्यसका आधारमा पनि हामीले गोरखाबाट नागरिकता जारी गर्न मिल्दैन, वडाध्यक्षले कुन आधारमा सिफारिस दिनुभयो म खोज्दैछु’ प्रजिअ भट्टराईले भने ‘त्यसमापनि उहाँहरु बेल्जियममा पिआर लिएर बसिरहनु भएको छ भन्ने कुरा पनि आएको छ, त्यसको बारे थप अनुसन्धान जारी छ ।’
यता वडा कार्यालयले भने १५ बर्षअघि नै कानूनी रुपमा जिल्ला छोडेका तिवारीलाई सहजै नागरिकताको सिफारिस दिएको खुलेको छ ।
‘शुक्रबार जन्मदर्ता लिएर उहाँहरु वडा कार्यालय आउनुभयो मैले सिफारिस दिए’ शहिद लखन गाउँपालिका ४ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले सिभिलखबरलाई भने ‘अरु कुरा हामीले पनि खोजेनौ, बराईसराई लगायत बिदेशी नागरिकताको कुरा हामीलाई कुनै जानकारी छैन ।’
तर वडासचिव रश्मा थापा भने आफुले जन्मदर्ताको प्रतिलिपी मात्रै बनाएको बताउछिन् ।
‘शुक्रबार जन्मदर्ताको प्रतिलिपी लिन उहाँहरु आउनुभएको हो, फाइल खोजेर मैले प्रतिलिपी मात्रै बनाइदिएको हो, नागरिकताको सिफारिस मैले बनाएको छैन’ उनले भनिन ‘कहाँबाट कसरी बनाउनुभयो त्यो मेरो जानकारीमा छैन ।’
तिवारीले फर्जि कागजात पेश गरी नागरिकता लिने प्रयास गरेको भन्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले आइतबार नै वडाध्यक्ष प्रजालाई जिल्ला प्रशासन कार्यालय गोरखामा बोलाएर बयान लिएको छ ।
‘वडाध्यक्षलाई हामीले कार्यालयमै बोलाएर सोधपुछ ग¥यौ’ प्रजिअ भट्टराईले भने ‘जन्मदर्ताका आधारमा मैले सिफारिस दिएको हुँ, बसाइसराईको कागजपनि देखाएनन, अरु कुरा मैले पनि सोधिन भन्ने जवाफ वडाध्यक्ष ज्यूले दिनुभयो ।’
आर्थिक लेनदेनमा वडाध्यक्ष कृष्णबहादुर प्रजाले गोरखाबाट चितवन बसाई सरेका र हाल बेल्जियममा पिआर लिएर बसेका तिवारीलाई नागरिकताको सिफारिस दिएको गोप्य सूचना कार्यालयलाई प्राप्त भएको स्रोतको भनाई छ ।
यस बिषयमा बुझ्न बारम्बार तिवारीलाई फाेन सम्पर्क गर्दा उनकाे फाेन भने उठेन ।