• बिहिबार, साउन २१ २०८३

सेनाद्वारा १५ हजारभन्दा बढी वृक्षारोपण


शुक्रबार, माघ १६ २०७७
1.1K
Shares

लमजुङ । नेपाली सेनाले लमजुङका विभिन्न ठाउँमा १५ हजार ७ सय ५० बिरुवा रोपेको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले बिहीबार सेनाको बेंसीसहर नगरपालिका २, श्रीस्वाँरामा प्रस्तावित ब्यारेकमा पुगेर वृक्षरोपण कार्यको सुरुवात गरेका थिए । उनले एभोकाडोको बिरुवा रोपेका थिए । सेनाको सहयोगमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्ला अस्पतालको प्राङ्गणमा वृक्षरोपण गरेका थिए ।

सेनापति थापाले बेंसीसहर २ कै उत्तरधारा, जल्केनी सामुदायिक वन, नरुवल मगरगाउँ साथै बगालेगाउँस्थित निर्माणाधीन नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा पुगेर वृक्षरोपण गरेका लमजुङको उदिपुरस्थित श्रीजंग गणका गणपति प्रमुख सेनानी कर्नेल जयराम थापाले बताए । उनका अनुसार सेनाको निर्माणाधीन ब्यारेक र तालिम केन्द्र वरपर सेनाले वृक्षरोपण गरेको छ । अन्य ठाउँमा समुदायसँगको समन्वय र सहभागितामा वृक्षरोपण गराएको छ । उनका अनुसार फलफूल र अन्य बिरुवा गरी २० प्रकारका बिरुवा रोपिएको छ । फलफूलको मात्रै १५ प्रकारको बिरुवा रोपिएको उनले बताए । बेंसीसहर नगरपालिका २, ३, ८ र ९ का सार्वजनिक तथा सामुदायिक क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

प्रधानसेनापति थापाले प्रकृतिको संरक्षण, फलफूल खेती साथै व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने बताए । बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले फलफूल र बहुउपयोगि बृक्षरोपणले सुन्दर नगर बनाउने अभियानमा सहयोग पुगेको बताए ।

सेनाले धनकुटा, कोसी टप्पु, म्याग्दी र गोरखाको पालुङटारका नर्सरीबाट बिरुवा ल्याएको जनाएको छ । कर्नेल थापाका अनुसार नेपाली सेनाले १३ दशमलव ५५ बर्ग किलोमिटर क्षेत्रफलमा बृक्षरोपण गरेको हो । सेनाले ९ वटा सार्वजनिकस्थान, ४ वटा सामुदायिकस्थान र सेनाको आफ्नै २ वटा स्थानमा बृक्षरोपण गरेको जनाएको छ । सेनाको सहभागितामा चिसापानी, काफलस्वाँरा, नरुवल, गैरी, तालफााट, बोहोराबेंसी, भकुण्डे, सिम्ले, झप्रिखेत, गाउासहर दरबार, बेंसीसहरको कर्पुरेश्वर मन्दिर, मलामीचौर, मध्यमर्स्याङ्दीको बाँधक्षेत्रलगायत क्षेत्रमा बृक्षरोपण गरिएको छ ।

उनका अनुसार एभोकाडो, ओखर, टिमुरको बिरुवा, अम्बा, रुख कटहर, कागती, सित्तल चिनी (मरिंगा) लगायत बिरुवा रोपिएको थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार