काठमाडौँ । कोभिड–१९ संक्रमणले नेपालमा ६ महिनापछि बिहीबार कसैको पनि मृत्यु पुष्टि भएन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यसअघि साउन ४, ५ र ८ गते कोभिडले कसैको मृत्यु भएको थिएन ।

हालसम्म नेपालमा कोभिडबाट २ हजार २० जनाको मृत्यु भइसकेको छ ।
विज्ञहरूले भने कोभिडबाट मृत्युदर र संक्रमणमा कमी देखिए पनि उच्च जोखिम कायमै रहेको जनाएका छन् । उनीहरूले मुलुकमा खोप लगाउन सुरु भएको भन्दै स्वास्थ्य लापरबाही बढेकामा चिन्तासमेत व्यक्त गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।अधिकारीले पनि कोभिड संक्रमितको संख्या कम हुँदा सहज जस्तो देखिए पनि उच्च जोखिम कायमै रहेको बताए । सहप्रवक्ता डा.अधिकारीले खोप आइसके पनि मास्क, सामाजिक दूरी, हातको सरसफाइ जस्ता जनस्वास्थ्यको मापदण्ड अपनाउनुपर्नेमा जोड दिएका छन् । कोभिड संक्रमण आक्रामक रूपमा देखिए थेग्न गाह्रो हुने ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।
गण्डकी प्रदेशमा कोभिडको संक्रमण अलि बढेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले गण्डकीमा बेलायतमा देखिएको नयाँ स्वरूपको भाइरसबाट संक्रमण भएको हो कि भनेर अध्ययन सुरु गरेको छ । नेपालमा यसअघि विदेशबाट आएका तीन जनामा नयाँ स्वरूपको कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
मुलुकमा कोभिड संक्रमण पुरुषमा बढी देखिएको छ भने १८ वर्षदेखि ३५ वर्षसम्म उमेरका व्यक्ति सबैभन्दा बढी संक्रमित छन् । मुलुकमा बिहीबार ३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा २ सय १३ जना अर्थात् ५.६१ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ । केही समययता देशभरि कोभिड परीक्षणमा व्यापक कमी देखिएको छ ।
देशभरिमा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ छ । तीमध्ये १ सय ४६ जना आईसीयू र २६ जना भेन्टिलेटरमा उपचाररत छन् । कोभिड संक्रमण देखिएकामध्ये ०.८ प्रतिशतको मृत्यु भएको छ भने ९८.१ प्रतिशत संक्रमित निको भइसकेका छन् ।