• बिहिबार, साउन २१ २०८३

आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै


शुक्रबार, माघ १६ २०७७
765
Shares


काठमाडौं । जहानियाँ राणा शासनविरुद्धको लडाइँमा ज्यान बलिदान दिने शहीदहरुको सम्झनामा आज शहीद दिवस मनाइँदै छ।

वि.सं.१९९७ सालमा प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तत्कालिन राणा शासकले मृत्यु दिएका थिए।

त्यसैको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ। आजको दिन राणा शासनसहित प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झना गरिन्छ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

शहीद दिवसका अवसरमा आज बिहान काठमाडौंको शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार