• मंगलबार, साउन १२ २०८३

कोरोनाबिरुद्धको खोप लगाउनमा उत्साह कम भएको हो ?


शुक्रबार, माघ १६ २०७७
625
Shares

गोरखा । कोरोना संक्रमण देखिएको झण्डै एक वर्षपछि खोप लगाउने काम सुरु भएको छ । धेरै मेहनतपछि केही राष्ट्रले खोप पत्ता लगाएका छन् । छिमेकी मुलक भारतले बनाएको कोभिडशिल्ड खोप अहिले नेपालमा लगाइदैछ ।

विश्वका कतिपय देशमा कोरोना बिरुद्धको खोप लगाउँदामा मानिसहरु बिरामी परेका छन् । केहीको त ज्यान समेत गएको छ । सोही कारण खोप लगाउन धेरै मानिस उत्साहित देखिदैनन् । ‘यो हामीले सधै लगाउने अरु भ्याक्सिन जस्तै हो । डराउनु पर्ने कुनै कारण छैन,’ जिल्ला अस्पताल गोरखाका डा. सन्तोष बास्तोलाले भने, ‘तर यस अघि पनि भ्याक्सिन लगाउँदा एलर्जी हुन्थ्यो भने यस पटक पनि सामान्य खराबी देखिन सक्छ ।

ज्वरो आउने, जिउ दुख्ने, स्वासप्रश्वासमा समस्या चाँही देखिन सक्छ । तर केही दिनमा आफै ठीक हुन्छ । अहिले नेपालमा प्रयोग भएको खोपले साधारण प्रतिक्रिया देखिएपनि कोही गम्भीर बिरामी नभएको उनको दाबी छ ।

सरकारले पहिलो चरणमा कोरोना रोकथाम र नियन्त्रणका लागि अग्रपङ्तीमा खटिने स्वास्थ्यकर्मीलाई नै खोप लगाउने निर्णय गरेको छ । साथमा सरसफाईका क्षेत्रमा काम गर्नेहरु, एम्बुलेन्स चालक र शवबाहन चालक पनि प्राथमिकतामा परेका छन् । सुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाउँदा आमसर्वसाधरणलाई विश्वास दिलाउन सजिलो हुने सरकारको रणनिति पनि देखिन्छ । तर जिल्लामा दुई दिन खोप लगाएकाहरुको तथ्याङ्क हेर्ने हो भने स्वास्थ्यकर्मी पनि डराएको जस्तो देखिन्छ ।

बुधबार गोरखा नगरपालिकाका १४६, भीमसेन थापा गाउँपालका ५० र शहिद लखन गाउँपालिका ५५ जना गरी २१५ जनालाई खोप लगाउने तयारी थियो । तर ११६ मात्र उपस्थित भए । बिहीबार गोरखा नगरपालिकाका १४७, भीमसेन थापा गाउँपालिका र शहिद लखन गाउँपालिकाका ५८/५८ जनालाई खोप लगाउने स्वास्थ्य कार्यालय गोरखाले जनाएको योजना गरिएको थियो । तर बिहीबार पनि जम्मा १५९ जनाले मात्र खोप लगाएको देखिन्छ ।

‘कोही कसैलाई आशंका त होला। तर स्वास्थ्यकर्मी साथीहरुलाई यो भ्याक्सिनबारे धेरै थाह छ । उहाँहरु डराएरै नआउनु भएको हो भन्ने मलाई लाग्दैन,’ सूचना अधिकारी ढकालले भने, ‘सबै एकैसाथ आउँदा कार्यालय बन्द हुन्छ । सेवाप्रवाह त बन्द गर्नु भएन नी ।’ बिस्तारै खोप लगाउनेहरु बढ्ने उनको दाबी छ ।

दोश्रो दिन बिहीबार १२५ जना पुरुष र ३४ जना महिला गरी १५९ जनालाई खोप लगाइएको उनले बताए । ती मध्ये ८७ जना स्वास्थ्यकर्मी, ६२ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । त्यस्तै कार्यालय सहयोगी, जना एम्बुलेन्स चालक सरसफाई कर्मचारी गरी १० जनालाई पनि पहिलो चरणको खोप लगाईएको छ ।

‘बुधबार लगाएका मध्ये झण्डै ४० प्रतिशतमा खोपको सामान्य असर देखिएको छ,’ ढकालले भने, ‘ज्वरो आउने, रुघा लाग्ने, जिउ दुख्ने लगायतका समस्या देखिएका छन् । तर उहाँहरु सबैको अबस्था सामान्य छ ।’ शुक्रबार आज पालुङटार नगरपालिकाका १११ जना, धार्चे गाउँपालिकाका ६५ जना, आरुघाट गाउँपालिकाका ६९, बारपाक सुलिकोट गाउँपालिका ६० र अजिरकोट गाउँपालिकाका ५० जनाले खोप लगाउने तयारी छ ।

पहिलो चरणमा यहाँका १ हजार ७८९ जनालाई खोप लगाइने बताइएको छ । ती मध्ये १५ सय ८९ जना स्वास्थ्यकर्मी हुन्, अन्य भने शब व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालक रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार