गोरखा । जिल्लाको विभिन्न स्थानबाट हराएका मोटरसाइकल सहित प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । २२० सिसिको दुई वटा पल्सर मोटरसाइकल सहित लमजुङको दुधपोखरी गाउँपालिका १ का रमेश भट्टराई पक्राउ परेका हुन् ।

प्रदेश ३–०२–००२ प ६८८६ नम्बरको मोटरसाइकल चढेर गएका उनी माघ १२ गते पालुङ्टारमा प्रहरी चेकजाँचमा परेका थिए । उक्त मोटरसाइकलको कागजात लिन भन्दै अर्काको मोटरसाइकलमा घर गएका उनी नफर्के पछि प्रहरीले निग्ररानी बढाएको थियो ।
लिफ्ट लिएको बा. ६८ प ११०९ का मोटरसाइकल धनीसँंग आफुले पनि यस्तै मोटरसाईकल किन्न लागेकोले एक पटक टेष्ट ड्राईभ गर्न मागेका थिए । त्यसपछि बेपत्ता भएका उनलाई प्रहरीले माघ १३ गते सिरानचोक गाउँपालिका ८ को गोपालडाँडाबाट प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (एसपी) सुरेन्द्र बहादुर गुरुङले बताए ।
चेकजाँचका क्रममा पालुङ्टारमा छोडेर गएको मोटरसाइकल पनि माघ १० गते धादिङको गजुरी गाउँपालिका २ को मलेखुबाट चोरी गरी ल्याएको तथ्य खुलेको छ । जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि पनि स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल लैजाने क्रममा भाग्ने प्रयास गरेको प्रहरीले बताएको छ ।
उनले सुरक्षामा खटिएका प्रहरीलाई समेत टोकेर घाइते बनाइदिएका छन् । प्रहरीले उनी बिरुद्व गोरखा जिल्ला अदालतमा चोरी मुद्वा दर्ता गराएर १० दिनको म्याद थप गराएर अनुसन्धान थालेको छ । गत माघ ११ गते राती चोरी भएको दुईवटा मोटरसाइकल भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गोरखा नगरपालिका १० वीरेन्चोकबाट चोरी भएको लु ६० प २५९० नम्बरको मोटरसाइकल र सोही दिन गोनपा ८ बराहबाट चोरी भएको लु ५९ प ०९२४ नम्बरको पल्सर मोटरसाइकल भने फेला नपरेको प्रहरीले जनाएको छ ।