गोरखा । बुधबार जिल्लाका १ सय १६ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । पहिलो दिन बुधबार ८९ जना महिला र २७ पुरुष गरी १ सय १६ जनालाई खोप लगाइएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

बुधबार ५८ जना स्वास्थ्यकर्मी, ५१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाइएको उनले बताए । त्यस्तै ५ जना कार्यालय सहयोगी र २ जना एम्बुलेन्स चालकलाई पनि पहिलो चरणको खोप लगाईएको छ । ‘पहिलो दिन उत्साहजन रुपमा खोप लगाउने काम भयो,’ उनले भने, ‘कसैलाई पनि केही समस्या भएको छैन । कोभिशिल्ड पनि अन्य भ्याक्सिन जस्तै हो । कोही कसैलाई सामान्य रिक्यासन देखिनु स्वाभाविक हो । तर यहाँ त्यही पनि देखिएको छैन । त्यसैले केही हुँदैन ढुक्क भएर खोप लगाउन हुन आग्रह गर्दछु ।’
जिल्ला अस्पताल गोरखामा एक कार्यक्रमका वीच अस्पतालकी मेडिकल सुपरिटेण्डेन डा. शान्ती भुर्तेललाई खोप लगाएर उक्त अभियान सुरु गरिएको हो । पहिलो चरणमा यहाँका १ हजार ७८९ जनालाई खोप लगाउने तयारी छ । ती मध्ये १५ सय ८९ जना स्वास्थ्यकर्मी हुन्, अन्य भने शब व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालक रहेका छन् ।
बुधबार पहिलो दिन गोरखा नगरपालिकाका १४६, भीमसेन थापा गाउँपालका ५० र शहिद लखन गाउँपालिका ५५ जनालाई खोप लगाउने तयारी थियो । तर नामावली संकलन गरिएका सबै उपस्थित नभएका कारण ११६ जनालाई मात्र लगाइएको हो । आज गोरखा नगरपालिकाका १४७, भीमसेन थापा गाउँपालिका र शहिद लखन गाउँपालिकाका ५८/५८ जनालाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
बुधबारबाट सुरु भएको खोप कार्यक्रम १८ गते अर्थात ५ दिन सम्म चल्ने बताइएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्यमंसेबिका, एम्बुलेन्स चालक, शबबाहन चालक, शब व्यवस्थापन खटिएका सुरक्षकर्मी, सरसफाई सहयोगीहरुलाई खोप लगाउने तयारी छ ।
जिल्लाका लागि पहिलो चरणमा २०१ भायल अर्थात २ हजार १० डोज (मात्र) खोप ल्याइएको छ । एक महिना पछि अहिले लगाइएका व्यक्तिहरुलाई पुन खोप लगाउनु पर्ने चिकित्सकहरुले बताएका छन् । जिल्लालाई प्राप्त करिब ४ हजार खोप मध्ये बाँकी दोश्रो चरणमा ल्याइनेछ ।