पोखरा । बुधबार देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएको छ ।

यसै क्रममा गण्डकी प्रदेशमा कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापालाई खोप हस्तान्तरण गरे ।

उदघाटन समारोहमा मुख्यमन्त्री गुरुङले सरकारले विश्वका विकसित देशहरुले खोप लगाउन थालेको डेढ महिना नबित्दै प्रदेशमा कोरोना संक्रमण विरुद्धको खोप सुरु गरेको बताए । उनले पहिलो चरणमा ‘फ्रन्ट लाइनर’का लागि सुरु गरिएको खोप क्रमशः सर्वसाधारण जनताका लागि लगाइने बताए ।
‘सरकार जनताको स्वास्थ्यका लागि अत्यन्त जिम्मेवारीका साथ अगाडि बढेको छ,’ उनले भने, ‘त्यसैले कोरोना विरुद्धको खोपको प्रारम्भ भएको छोटो समयमै नेपाली जनताका लागि निःशुल्क खोप सुरु भएको छ ।’ कोरोनाविरुद्धको पहिलो खोप लगाएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले गण्डकी प्रदेशमा सुरु गरिएको खोप पहिलो पटक आफूले लगाउन पाउँदा खुशी लागेको बताए । उनले पहिलो चरणमा फ्रन्टलाइनरका लागि सुरु गरिएको खोप सुरक्षित रहेको सन्देश दिन पहिलो खोप आफूले लगाएको बताए ।
उनले कोरोनाविरुद्ध सुरु गरिएको खोप अन्य खोपको तुलनामा धेरै सुरक्षित रहेको बताए । उनले लामो समयदेखि कोरोनाका कारण आफू समाजका विभिन्न कार्यक्रममा नगएको बताउँदै अब खोप लिएपछि भने विभिन्न कार्यक्रमहरुमा सामेल हुने प्रतिवद्धता ब्यक्त गरे ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माले पहिलो चरणमा खोप लगाउने फ्रन्टलाइनरका लागि कोरोनाविरुद्धको खोप सुरक्षित रहेको सन्देश दिन आफूले प्रारम्भमै खोप लगाएको बताए ।
अरु खोपको तुलनामा यो खोप सुरक्षित रहेको र खोप लगाएपछि आफ्नो आत्मबल बढेको पनि उनले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका प्यााथोलोजिस्ट डा.मुनी सुवेदीले खोप सुरक्षित रहेको बताइन् । उनले कोभिड–१९ को संक्रमण सुरु भएपछि पोखरा स्वास्थ्य प्रतिष्ठानमा कोरोनाको परीक्षण गर्ने पहिलो सौभाग्य मिलेको बताउँदै उनले गण्डकीमा प्रारम्भ भएको खोप लगाउनसमेत सुरुमै अवसर मिलेको बताइन् ।
डा. सुवेदीले विश्वमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै छोटो समयमा विकास गरिएको खोप यति छिट्टै नेपालमा लगाउन पाउनु सौभाग्य भएको बताइन् । कोरोनाविरुद्धको लडाईमा स्वास्थ्यकर्मी, चिकित्सकहरु फ्रन्टलाइनमा खटिएकाले उनीहरुलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
अस्पतालकै स्वास्थ्यकर्मी र चिकित्सक मार्फत घर–परिवारमा कोरोना सर्न सक्ने खतरा भएकाले सुरक्षित रहन सबैले खोप लगाउनुपर्ने डा. सुवेदीको भनाइ छ । कोरोना संक्रमणविरुद्धको खोप ‘कोभिशिल्ड’ भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । गण्डकी प्रदेशमा पहिलो चरणमा कोरोनाविरूद्ध फ्रन्टलाइनमा खटिनेका लागि ४० हजार डोज खोप प्राप्त भएको हो । त्यसमध्ये पहिलो चरणमा लगाउने करिव १८ हजार डोज खोप प्रदेशमा आएको छ ।
केन्द्रले खोपसहित व्यवस्थापन र सहजीकरण गर्नका लागि गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई खोप व्यवस्थापन संयोजक तोकेको छ । खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड १९ को संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।
दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिनापछि पुनः दोस्रो मात्रा दिइने गण्डकी स्वास्थ्य निर्देशनालका निर्देशक डा.विनोदविन्दु शर्माले बताए । एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।