काठमाडौं । रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुदुर’बाट नायिका वर्षा सिवाकोटी बाहिरिएकी छिन् ।
नायिका सिवाकोटीले यो चलचित्र साइन गरेको करिब डेढ बर्ष भयो । डेढ बर्ष अगाडि छायांकनमा जाने भनेर वर्षाले चलचित्र साइन गरेकी थिइन् । तर, चलचित्रको छायांकन ढिला भैरहेको थियो । कोरोना महामारीका कारण चलचित्रको छायांकन सुरु हुन सकेन ।
निर्देशक रमेश वुढाथोकीले चलचित्रको छायांकन चैत्रबाट सुरु गर्ने तयारी गरेका छन् । यो चलचित्रको छायांकन जुम्लामा हुनेछ । चलचित्रको छायांकनको सेड्यूल पछि सरेको र आफूले समय दिन नसक्ने भएपछि सहमतीमै चलचित्र छाडेको वर्षाले बताइन् ।
चलचित्रको निर्माणपक्षले नायक पुष्प खड्कालाई पनि अफर गरेको छ । तर, पुष्पले भने चलचित्र गर्ने वा नगर्ने पक्का गरेका छैनन् । नायिका सिवाकोटीले लकडाउनपछि चलचित्र ‘परदेशी २’को छायांकन सकाएकी छिन् । उनको ‘मनसँग मन र लक्का जवान’ पनि रिलिजको प्रतिक्षामा छन् ।