काठमाडौं । प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई पक्राउ गरेको छ।
लागुऔषध कारोबार भइरहेको भन्ने पूर्वसूचनाका आधारमा सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका—१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका—७ की ३७ वर्षीया रिता खड्का र धादिङ थाक्रे गाउँपालिका—९ की २९ वर्षीय अमृता तामाङ छन्। उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतका अनुसार रिताबाट सुरूमा ३ सय १२ ग्राम र अमृताबाट ४०४ ग्राम गाँजा र ५ हजार बरामद गरेको थियो।
उनीहरू दुबै जना काठमाडौंको चन्द्रागिरि नगरपालिका—१ बलम्बुमा डेरा गरी बस्दै आएको एसपी बस्नेतले बताए।
थप अनुसन्धानको क्रममा उनीहरूको कोठा तलासी गर्न प्रहरीको टोली चन्द्रागिरि पुगेको थियो।
अमृता तामाङ सुत्ने खाटमुनिबाट प्रहरीले थप लागुऔषध गाँजा ६ किलो ९० ग्राम बरामद गरेको थियो। साथै, ६ लाख ५७ रुपैयाँ समेत बरामद गरेको थियो।
उनीहरूबाट प्रहरीले जम्मा ६ किलो ८१६ ग्राम गाँजा र ६ लाख ६२ हजार रुपैयाँ बरामद गरेको छ।