????????????????????????????????????
काठमाडौं । नेपाली सेनाले बरामद गरेका भरुवा बन्दुक प्रशासन कार्यालयलाई बुझाएको छ । सेना र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधि सहितको संयुक्त टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रबाट गएको हप्ता बरामद गरेको २५ नाल भरुवा बन्दुक निकुञ्ज कार्यालय प्रशासनलाई बुझाएको हो ।
मुगुको जगदुल्ला गाउँपालिकाबाट स्थानीय जनप्रतिनिधिको रोहवरमा १६ नाल भरुवा बन्दुक बरामद गरिएको थियो । यस्तै माघ ११ गते गाउँपालिकाको सिम्लौना भन्ने ठाउँमा रहेको गोठमा खोजी गर्दा २ नाल थप भरुवा बन्दुक फेला परेका थिए ।
डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष, मध्यवर्ती अध्यक्ष तथा स्थानीयको रोहवरमा फेरि ७ नाल भरुवा बन्दुक सेनाले बरामद गरेको थियो । ती बन्दुक सेनाले निकुञ्ज कार्यालयलाई बुझाएको छ ।
गएको माघ ११ गते नै बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङ्ग जिल्ला बबई गाउँपालिका १ को खयरखुट्टिस्थित स्थानिय व्यक्तिको घरबाट १ नाल भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको पनि सेनाले जनाएको छ ।
यस प्रकारका पहलकदमीले निकुञ्ज तथा आसपास ईलाकामा हुने गरेका चोरी शिकारी तथा अवैध गतिविधि नियन्त्रणमा आउने नेपाली सेनाले विश्वास लिएको छ।