गोरखा । जिल्लामा आइतबार राती तीन वटा मोटरसाइकल हराएका छन् । गोरखा नगरपालिका ८ बराहबाट २ वटा र वडा नम्बर १० बिरेनचोकबाट १ वटा गरी ३ वटा मोटरसाईकल चोरी भएको प्रहरीले जनाएको छ ।

बराह स्थिल एक घर अगाडी पार्किङ गरिरहेको अबस्थामा पूर्वाधार बिकास कार्यालय गोरखाको नाममा रहेको लु. ६९ प ०९२४ नम्बरको मोटरसाइकल चोरी भएको छ । शहिद लखन गाउँपालिका ८ मैलुङ घर भई सोही क्षेत्रमा बस्दै आएका सुरेश पुलामीको बा ८२ प ४४३८ नम्बरको मोटरसाइकल पनि हराएको छ ।
यसैगरी बिरेनचोकबाट लु. ६० प २५९० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । एसियन पेन्ट्सको नाममा दर्ता भएको २२० सिसिको उक्त मोटरसाइकल बिशाल थापामगरले चढ्दै आएका थिए ।
आफ्नै घर अगाडी पार्किङ गरिरहेको अबस्थामा उनको मोटरसाइकल गायब भएको हो । राती ११ बजे देखि १२ बजेको वीचमा उक्त मोटरसाइकलहरु चोरी भएको प्रहरीले अनुमान गरेको छ ।
घटनाबारे थाहा हुने बित्तिकै आवश्यक चेकजाँच र खोजतलास सुरु गरिएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । तर अहिलेसम्म मोटरसाइकल र चोरी गर्ने व्यक्ति दुबै फेला परेका छैनन् ।