गोरखा । कोरोना भाइरस बिरुद्ध लगाइने ‘कोभिड शिल्ड’ खोप आज गोरखा ल्याइदैछ । पहिलो चरणमा ४ हजार १४ मात्रा (डोज) खोप गोरखालाई उपलब्ध गराउने निर्णय भएको थियो ।
सो मध्येको पहिलो डोज मंगलबार पठाउन लागिएको गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले जनाएको छ । ‘गोरखाको लागि ४ हजार १४ डोज खोप छुट्याइएको छ । त्यसमध्येको २०१ भायल पहिलो चरणमा पठाउँछौं ।

त्यसको २ महिनापछि पुनः २०१ भायल खोप आउँछ,’ केन्द्रका निर्देशक खिमबहादुर खड्काले भने ‘एक भायलमा १० डोज खोप हुन्छ । खोप भन्ने कुरा संवेदनशिल हुने भएकाले निर्धारण भएको भन्दा केही धेरै नै पठाइन्छ ।’ भारतमा निर्माण भएको कोभिड शिल्ड खोप एक व्यक्तिले दुई पटक लगाउनु पर्नेछ
पहिलो मात्रा लगाएको एक महिना पछि पुनः दोश्रो पटक खोप दिइने चिकित्सकहरुले बताएका छन् । उक्त खोप २ डिग्री देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नु पर्ने भएकाले अहिले थोरै मात्र पठाइएको निर्देशनालयले स्पष्ट पारेको छ । ‘गोरखाबाट अहिलेसम्म १ हजार ८०८ जनाको नाम प्राप्त भएको छ । भ्याक्सिनलाई स्टोर गर्न निकै गाह्रो हुन्छ त्यसैले अहिले छनौटमा परेका मानिसहरुलाई पुग्ने गरी पठाइएको हो,’ उनले भने, ‘दोश्रो पटक लगाउने बेला पुनः पठाइनेछ ।’
कोरोना बिरुद्धको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम समेत प्रदान गरिएको छ । जिल्ला अस्पताल गोरखाका तालिम प्राप्त स्वास्थ्यकर्मीले आगामी १४ गते देखि १८ गते सम्म खोप लगाउने छन् ।
‘यो अरु भ्याक्सिन जस्तै हो । डराउनु पर्ने कुनै कारण छैन,’ जिल्ला अस्पताल गोरखाका डा. सन्तोष बास्तोलाले भने, ‘तर यस अघि पनि भ्याक्सिन लगाउँदा एलर्जी हुन्थ्यो भने यस पटक पनि सामान्य एजर्ली हुन सक्छ । ज्वरो आउन सक्छ । स्वासप्रश्वासमा समस्या चाँही देखिन सक्छ ।’ यदी कसैलाई खोपको प्रतिक्रिया देखियो भने जिल्ला अस्पतालमै राखेर उपचार गराउने व्यवस्था मिलाइएको छ । अबस्था जटिल भए पोखरा पठाइने उनले बताए । ‘त्यस्तो भइहालेमा कहाँ राखेर उपचार गर्ने भनेर प्रदेशले सबै प्रवन्ध मिलाएको छ । यहाँ पनि हामीले आवश्यक सबै तयारी गरिसकेका छौं,’ उनले भने, ‘त्यसैले ढुक्क भएर खोप लगाउन आग्रह गर्दछौं ।’ खोप लगाउनका लागि जम्मा ५ दिनको समय अप्रर्याप्त हुन सक्ने स्वास्थ्य कार्यालयको ठहर छ ।
चुमनुब्री, धार्चे लगायतका उत्तरी क्षेत्रबाट आउनेहरुलाई नभ्याउन सक्ने देखिएकाले समय बढाइदिन मन्त्रालयलाई आग्रह गरिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए । ‘पहिलो चरणमा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, कार्यालय सहयोगीहरु, एम्बुलेन्स चालक, शव बाहनको चालक लगायतलाई खोप लगाउने निर्णय भएको छ,’ उनले भने, ‘भौगोलिक बिकटताका कारणले उत्तरी गोरखामा कार्यरत साथीहरु आउन समस्या छ । त्यसैले केही दिन लम्ब्याउन पर्ने हुन सक्छ ।’
जिल्लामा हालसम्म आरुघाट गाउँपालिकामा १३८, अजिरकोट गाउँपालिकामा १०५ र भीमसेन थापा गाउँपालिकामा १०८ जनालाई खोप लगाउने निर्णय भएको छ । यसैगरी चुमनुब्री गाउँपालिकामा ११९, धार्चे गाउँपालिकामा १३०, गण्डकी गाउँपालिकामा १३१, गोरखा नगरपालिकामा २९३ र पालुङटार नगरपालिकामा २११ जनालाई पहिलो चरणमा खोप लगाउने तयारी छ ।
त्यस्तै शहिद लखन गाउँपालिकाका ११३, सिरानचोक गाउँपालिकाका १३५ र बारपाक सुलिकोट गाउँपालिकाका १२५ जनालाई पनि कोभिड शिल्ड खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ । थप खोप प्राप्त भएसँगै लगाउने दर पनि बढ्ने बताइएको छ ।