पोखरा । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ ।
भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।
सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।