गोरखा । गोरखा जिल्लामा पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप १५ सय ९० जनालाई लगाइने भएको छ ।

भारत सरकारले नेपाललाई अनुदान स्वरुप दिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप कोरोना नियन्त्रणका क्रममा जोखिममा रहेका स्वास्थ्य कर्मी, स्वयमसेविका, शव व्यवस्थापनमा खटिने व्यक्ति लगायतलाई लगाउने निर्णय गरेसंगै जिल्लामा पनि विवरण तयार पारि पठाइएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले अहिलेसम्ममा जिल्ला भित्रका ११ वटै स्थानीय तहका तथा स्वास्थ्य संस्थामा कार्यरत एकहजार पाँचसय ९० जना स्वास्थ्यकर्मीहरुको नाम मन्त्रालयमा पठाइएको छ ।
पहिलो चरणमा खोप लगाउनेमा गोरखा नगरपालिकामा २५३, पालुङटार नगरपालिकाका २११ जना, सिरानचोक गाउँपालिकाका १३४ जना, शहिद लखन गाउँपालिकाका ११३, गण्डकी गाउँपालिकाका १२७ जनाको नाम मन्त्रालय पठाइएको छ ।
त्यस्तै वारपाक सुलिकोट गाउँपालिकाका १२६ जना, अजिरकोट गाउँपालिकाका १०५ जना, भीमसेन थापा गाउँपालिकाका १०८, धार्चे गाउँपालिकाको १०५, चुमनुब्री गाउँपालिकाका ११९ जना र आरुघाट गाऊँपालिकाका १३८, स्वास्थ्यकर्मीको नाम मन्त्रालयमा पठाइएको कोरोना फोकल पर्सन अर्यालले बताएका छन्।
सरकारले आगामी १४ गते बुधवार बिहान १० बजेबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गर्ने जनाएको छ ।