काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो।
विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको हो।
विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लन लागेको जानकारी समेत गराएको छ।
करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ।
२०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए।
जनगणना विभिन्न प्रविधि अपनाई गरिने उनको भनाइ छ । मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत गणना गरिने उनले बताए।
राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए। अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभूत प्रश्नहरु राखिएको उनको भनाइ छ।
राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो। नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो। बाह्रौँ जनगणना २०७८ जेठ देखि असार सम्म सञ्चालन हुने पनि विभागले बताएको छ।