घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ।
दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर पुगेका थिए।
महेन्द्रनगरको बसपार्कस्थित पोखरा होटल एन्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
‘भाउजूको शनिबार बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ।’ देवर–भाउजू कहाँ जान त्यहाँ पुगेको भन्नेबारे समेत खुल्नसकेको छैन।
‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिइन्, खाँदा बिरामी परेँ भन्थे’, थापाले भने, ‘उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ।’
प्रहरीका अनुसार दुबैको शव महाकाली अस्पतालमा राखिएको छ। प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ। रासस