• शनिबार, साउन ९ २०८३

धावाका पाेखरेलले व्यक्तिगत लगानीमै बनाए मन्दिर र बाटो


शुक्रबार, माघ ९ २०७७
1.1K
Shares

गोरखा । साना तिना कामका लागि सरकारको मुख ताक्ने हामी धेरैको बानी छ । आफ्नै घर अगाडीको बाटो भत्किएपनि सरकारले बनाउनु पर्छ भन्ने मान्यता हामीमा छ । भत्किएको ठाउँमा खाल्टो पुर्ने साधारण काम पनि हामी गर्दैनौं ।

तर कतिपय यस्ता व्यक्तिहरु पनि छन्, जो व्यक्तिगत लगानीमा सामाजिक हितका काम गर्नपछि पर्दैनन् । भीमसेन थापा गाउँपालिका ४ धावाका युवराज पोखेरललाई एक उदारणीय पात्रको रुपमा लिन सकिन्छ । उनले हालसम्म झण्डै १० लाख खर्चेर गाउँलेका लागि मन्दिर निर्माण गरिदिएका छन् । हाल काठमाण्डौमा बस्दै आएका उनले उक्त मन्दिरसम्म जाने करिब एक किलोमिटर सडक पनि आफ्नै खर्चमा खनिदिएका छन् ।

‘हाम्रो गाउँमा मन्दिर नहुँदा तिजको ब्रत बसेका चेलिबेटीहरु दर्शनका लागि टाढा जानुपर्ने, अन्य चाडपर्वमा पनि पुजा गर्न नपाइने अबस्था थियो,’ उनले भने, ‘गाउँमै एउटा मन्दिर मनाउन पाएँ हुन्थ्यो भन्ने मनमा लागि रहेको थियो । मैले सानैमा बरपिपल सारेर चौतारो पनि लगाएको थिएँ । २०५१ सालमा त्यही चौताराको आडमा एउटा शिवालय निर्माण गरिदिएँ ।’

तत्कालिन समयमा करिब ३ लाख लगानीमा शिवालय र बिश्राम पार्टी समेत निर्माण गरिएको थियो । उनले चौताराको पचिष्टा पनि सोही समयमा गरिदिए । तर २०७२ सालको विनाशकारी भूकम्पले मन्दिर र पाटीमा क्षति पुगेपछि पोखरेलकै पहलमा अहिले पुर्ननिर्माण गरिएको छ ।

‘यसपाली मन्दिर मात्र बनाउन करिब ६ लाख जति लाग्यो । बाटो खन्दा ४० हजार खर्च भएको छ,’ उनले भने, ‘मैले यति खर्च गर्दा सनातन परम्परा जोगिएको छ । बाबु बाजेले मान्दै आएको धर्म र सस्कार संरक्षण भएको छ । गाउँलेहरुले पनि पुजाआजा गर्न पाएका छन् । म निकै खुसि छु ।’

उक्त मन्दिर र बाटो निर्माण भएपछि खेतबारी, धारा तथा आसपासका गाउँ र वडाहरुमा आउजाउ गर्न समेत सहज भएको स्थानीय बताउछन् । ‘उहाँले हामी गाउँलेलाई मायाँ गरेर व्यक्तिगत रुपमा यत्रो लगानी गरेर पुण्य काम गर्नु भएको छ । हामी निकै खुसि छौं,’ स्थानीय खिलनाथ पोखरेलले भने ,‘आउँदा दिनमा पनि उहाँको यस्तै महान कार्य गर्नु हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

करिब ५० घरधुरी रहेको पोखेरल गाउँ, गैरागाउँ, धावा, चौतारा मञ्ज्याङ्ग, तान्द्राङ, आरुपोखरी लगायतका स्थानका सर्वसाधरण पुजाआजाका लागि उक्त मन्दिर आउने उनले बताए । मन्दिरमा हरेक वर्ष शिवरात्रीका दिन मेला लाग्ने गर्छ । दशै, तिहार, तिज, जनैपुर्णिमा लगायतका पर्वमा पनि विशेष पुजाआजा हुनेगरेको सर्वसाधारणले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार