• बिहिबार, साउन २१ २०८३

कोरोनाको खोप गण्डकी प्रदेशमा आजै आउने


शुक्रबार, माघ ९ २०७७
850
Shares

पोखरा । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुगेको छ । खोप आइतबारसम्म सबै प्रदेशमा पुर्‍याउने सरकारको तयारी छ ।

गण्डकी प्रदेशको खोप भण्डारण गृह पोखरामा छ । तर कति खोप गण्डकीमा आउँछ भन्ने जानकारी केन्द्रबाट नआएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले आउने भ्याक्सिन कतिलाई लगाउने भन्ने यकीन गर्न नसकिएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख शम्भुप्रसाद ज्ञवालीले बताए । ज्ञवालीका अनुसार गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी,सरसफाइकर्मी र एम्बुलेन्स चालक गरेर बिहीबारसम्म साढे १८ हजारको नाम प्रदेश सरकारलाई प्राप्त भएको छ । ‘खोप आउँदासम्म यो संख्या अझै बढ्न सक्छ,’ उनले भने ।

सरकारले कुल जनसंख्याको ३ प्रतिशतलाई खोप दिने भनेको छ । प्रदेशमा पनि त्यही अनुसार आउने भएकाले गण्डकीमा ७५ हजार जनालाई (कुल जनसंख्या २५ लाख) खोप प्राप्त हुनेछ ।

एकजनालाई २ पटक लगाउनुपर्ने भएकाले ३० देखि ३५ हजार जनाले सुरुमा खोप लगाउन पाउने छन् । यसमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरसफाइकर्मी र एम्बुलेन्स चालकले पहिलो प्राथमिकता पाउने छन् ।

प्रदेशमा पहिल्यैदेखि खोप भण्डारण हुँदै आएका २ वटा फ्रिज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रअन्तर्गत छन् । केन्द्रको त्यही फ्रिज कोभिड–१९ को भ्याक्सिन ‘कोभिसिल्ड’ राख्न प्रयोग गरिनेछ । केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार कुनै समस्या नभए शुक्रबार बेलुकासम्म खोप पोखरा आइपुग्नेछ ।

‘शुक्रबारयहाँबाट गाडी जाँदैछ । सबै कुरा मिल्यो भने बेलुकासम्म आउँछ,’ उनले भने, ‘यहीँ ल्याएर स्टोर गरेर राख्छौं । निर्देशिका आयो भने १ हप्ताभित्र लगाउन सुरु हुन्छ ।’

महाशाखा प्रमुख ज्ञवालीका अनुसार अहिले २ वटा फ्रिजसञ्चालनमा छन् र एउटाको मर्मत जारी छ ।

खोप पोखरा आएको ३ देखि ५ दिनमा जिल्लामा पुग्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । अरु खोपजस्तै माइनस २ देखि ८ डिग्री सेन्टिग्रेडमा राखिने भएकाले जिल्लासम्म पु¥याउन कुनै समस्या नहुने उनले बताए ।

डा. शर्माका अनुसार जिल्लास्थित भण्डारण केन्द्रमा लगेपछि त्यो खोपलाई विभिन्न केन्द्रमा पु¥याइनेछ । गण्डकी प्रदेशका ११ जिल्लामा १७ सय खोप केन्द्र रहेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख ज्ञवालीले जानकारी दिए ।

‘अहिलेलाई नियमित खोप लगाउँदा भइरहेकै ‘कोल्ड क्यारियर’ ले काम चल्छ,’ उनले भने, ‘पछि अरु भ्याक्सिन पनि लगाउनुपर्ने, कोभिड पनि लगाउन पर्दा त्यसको समस्या हुने देखिन्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार