काठमाडौं । राष्ट्रिय मानवि अधिकार आयोगले लामो समयदेखि अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिति दिनानुदिन गम्भीर बन्दै गएको भन्दै सरकारको ध्यानार्कषण गराएको छ।
पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनसनमा रहेकी अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको भएता पनि उनको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको आयोगको ठहर छ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै सत्याग्रही गङ्गामाया पछिल्लो पटक ३२ दिनदेखि अनशनरत हुनुहुन्छ । उहाँको जीवनरक्षा, स्वास्थ्येपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरिएको पनि आयोगले जनाएको छ ।
अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै जीवन रक्षा तथा उचित बसोबासको व्यवस्थापन गर्न, उनको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न तथा यसअघि नेपाल सरकारले गरेका सम्झौताहरूको पालना गर्न आयोगले नेपाल सरकारसँग आग्रह गरेको छ। साथै, आमरण अनसन जस्तो जोखिमयुक्त बाटो नरोज्न आयोगले अनसनरत गंगामाया अधिकारीलाई आग्रह गरेको छ।