• बिहिबार, साउन २१ २०८३

भारतले दिएको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो


बिहिबार, माघ ८ २०७७
725
Shares


काठमाडौं । भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ। एयर इन्डियाको विमानमार्फत बिहान साढे ११ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो। भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराउन लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ ।

खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।

हिजो (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिनुभएको थियो । उहाँले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने जानकारी दिनुभयो ।

कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा काम गर्नेलाई उपलब्ध गराउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले प्राथमिकताका आधारमा खोप उपलब्ध हुने जानकारी दिनुभयो ।

गौतमका अनुसार स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइएका सफाइकर्मीलाई सुरुमा खोप दिइनेछ । यस्तै कोरोनाको जोखिममा रहेका व्यक्तिहरूलाई चरणबद्ध रूपमा खोप दिइने उहाँले बताउनुभयो । यस्तै फ्रन्ट लाइनमा खटिने प्रहरी, शिक्षकलगायतका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिन लागिएको छ ।

भारतले बुधबारदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ । बुधबार भुटान र माल्दिभ्समा खोप पठाइएको थियो । नेपाल र बंगलादेशमा आज खोप पठाइएको छ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।

भारतमा सेरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप प्रयोगमा आएको छ । सो खोप एक जनाले दुई डोज लगाउनुपर्नेछ । पहिलो चरणमा ५ लाख नागरिकलाई खोप उपलब्ध गराइनेछ । नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार