काठमाडौं । नेपाली अभिनेत्री करिश्मा मानन्धरले चलचित्र यात्रा सुस्ताउँदै गएपछि राजनीतिमा जाने निर्णय गरिन् । डाक्टर बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीमा उनी आवद्ध भइन् । यसपछि करिश्मा सक्रिय रुपमा राजनीतिमा होमिएकी थिइन् ।
तर, नयाँ शक्ति पार्टी अन्य थुप्रै मधेश केन्द्रित पार्टीसँग विलय भयो र बाबुराम जनता समाजवादी पार्टीको संघीय परिषद्को अध्यक्ष छन् । यसपछि, करिश्माले राजनीतिमा सक्रिय रुपमा नलाग्ने निर्णय गरिन् । तर, सामाजिक संजालमा भने करिश्माले राजनीतिक घटनाक्रमका बिषयमा आफ्नो भनाई भने सार्वजनिक गर्न छाडेकी छैनन् ।
उनै, करिश्माले डाक्टर बाबुराम भट्टराइमाथि फेरि कटाक्ष गरेकी छिन् । बाबुरामले शेयर गरेको तस्वीरमा करिश्माले लेखिन्–‘तपाई जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सिमित भएको देखेर दुःख लाग्छ डाक्टर साब । यही हो नेपालीले पाएको गणतन्त्र । यही हो राजनीतिक संकार । देशको विकास कहिले हुने ?’ उनले बाबुरामलाई प्रश्न गरेकी छिन् ।
करिश्मा बाबुरामसँग रुष्ट बनेको र उनको राजनीतिक क्रियाकलापलाई नरुचाएको यो स्टाटसबाट पनि प्रष्ट हुन्छ ।