गोरखा । जिल्ला अस्पताल गोरखामा अहिले ७ जना विशेषज्ञ डाक्टर हाजिर भएका छन् । २०६९ सालमा भदौंबाट ५० शैयामा स्तरोन्ती भएको यस अस्पतालमा ७ जना विशेषज्ञहरुको दरबन्दी कायम भएको थियो । तर दरबन्दी हालमा परिपूर्ती हुन सकेको थिएन ।
‘अहिले दरबन्दीको संख्या पनि बढेर ९ पुगेको छ,’ जिल्ला अस्पताल गोरखाको सूचना अधिकारी कृष्ण ढकालले भने, ‘भिडियो एक्सरे र बालरोग बिशेषज्ञ उपलब्ध नभएपनि एम.डी गर्दै गर्नु भएका डाक्टर सापहरु हुनुहुन्छ । त्यसमा समस्या छैन । ढिलै भएपनि अहिले अन्य सबै दरबन्दी परिपूर्ति भएको अबस्था छ ।’ अहिले मेडिकल सुपरिटेण्डेन कन्सल्टेण्ट एनेस्थिसियोलोजिष्ट डा.शान्ति भुर्तेल, एम.जि.डि.पी इर्मेजन्सी मेडिसिन डा.सन्तोस बास्तोला, कन्सल्टेण्ट मानसिक रोग विशेषज्ञ डा.सुप्रिया शेरचनले सेवा प्रदान गरिरहेका छन् ।
यसैगरी कन्सल्टेण्ट एनेस्थिसियोलोजिष्ट डा.सुरज ढकाल, एम.जि.डि.पी इर्मेजन्सी मेडिसिन डा.सुदेसना लम्साल, कन्सल्टेण्ट प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ इरिसा तण्डुकार, कन्सल्टेण्ट जनरल सर्जन डा.बिधान सिग्देल, कन्सल्टेण्ट जनरल फिजिसियन डा.अजयराज गौतम र कन्सल्टेण्ट हाड जोर्नी विशेषज्ञ डा.केशबमणी गौतम समेत उपलब्ध रहेको छन् । ‘मलाई लाग्छ गोरखा अस्पतालकै इतिहासमा अहिले सबै भन्दा विशेषज्ञ डाक्टर उपलब्ध भएका छौं,’ मेडिकल सुपरिटेण्डेन डा. शान्ती भुर्तेलले भनिन्, ‘तर हामीले आवास भवनबाट सेवा दिनु परेको छ ।
कोरोना संक्रमितलाई राख्न आइसियु बनाइएको छ । हामीसँग छुट्टै भेन्टिलेटर पनि छैन । जसले गर्दा म्यानपावर अनुसारको सेवा दिन सकिएको छैन । आशा सबैको सहयोगले हामी छिट्टै क्षमता अनुसारको काम गर्न पाउनेछौं ।’ आइसोलेशनलाई अन्यत्र व्यवस्थित गर्ने हो भने इर्मेजेन्सीका बिरामीलाई पनि तत्काल बाहिर पठाउनु नपर्ने उनको भनाई छ । त्यसका लागि जिल्लाका सरोकारवालाहरुसँग छलफल भइरहेको भुर्तेलले बताईन् ।
भूकम्पले भत्काएको जिल्ला अस्पताल अहिले निर्माणाधिन अबस्थामा छ । चिकित्सकको लागी बनाइएको आवास भवनबाट जेनतेन सेवा सञ्चालन गरिएको छ । जसका कारण विशेषज्ञ चिकित्सकहरु उपलब्ध भएपनि तत्काल सबै सेवा भने सुरु हुन कठिन्याइँ रहेको अस्पताल स्रोत बताउँछ ।
‘जिल्ला अस्पतालको सेवा प्रभावकारी बनाउन हामी लागि परेका छौं । भूकम्पले भत्काएको अस्पताल भवन पनि निर्माण भइरहेको छ,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरुषोतम अर्यालले भने, ‘खुसीको कुरा हामीले लामो समय देखि प्रतिक्षा गरेको ७ जना विशेषज्ञ डाक्टरहरु आउनु भएको छ । बाँकी दुई दरबन्दी पनि छिट्टै पुरा गर्न हामीले पहल गरिरहेका छौं ।’
जिल्ला अस्पतालमा १ जना मेडिकल सुपरिटेन्डेन सहित ९ जना बिशेषज्ञ चिकित्सक, ४ जना मेडिकल अफिसर, एक जना डेन्टल, ८ जना स्टार्फ नर्स र ४ जना अनमीको दरबन्दी छ । ५० जना भन्दा बढि स्थायी दरबन्दी रहेको अस्पतालमा अहिले १९ जना मात्र उपलब्ध छन् । अन्य पद भने रिक्त भएकाले करारमा कर्मचारी राखेर चलाइएको छ ।