• मंगलबार, साउन १२ २०८३

खोप वितरणमा गरिबलाई पछाडि पारिए कोरोना महामारी अन्त्य हुनेछैनः डब्लूएचओ


मंगलबार, माघ ६ २०७७
605
Shares


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख टेड्रोस एडह्यानम गिब्रिएससले खोप वितरणमा गरिब देशलाई पछाडि पारिए कोरोना महामारी अन्त्य नहुने चेतावनी दिएका छन्।

बीबीसीका अनुसार सोमबार टेड्रोसले कोरोनाविरुद्धको खोपले मानिसमा एकतर्फ आशा जगाउँदा अर्कोतर्फ यसले अर्को खतरा निम्त्याएको बताएका हुन्।

उनले विश्वभरका मुलुकबीच यतिबेला कोरोनाविरुद्धको खोप प्राप्त गर्न प्रतिस्पर्धा चलेको बताउँदै यो होडबाजीमा गरिब राष्ट्र पछाडि पर्ने खतरा भएको औंल्याए।

उनी भन्छन्,‘विश्वमा धनी र गरिब देशबीच असमानता छ। यसले समान खोप वितरणमा अवरोध खडा गर्नसक्छ।’

गरिब राष्ट्रलाई खोपको प्राथमिकतामा राखिनुपर्नेमा जोड दिँदै उनले भने,‘गरिब देशका स्वास्थ्यकर्मी र वृद्धवृद्धा अगाडि नै धनी राष्ट्रका मानिसहरुले खोप पाए यो नैतिक कार्य हुनेछैन।’

गरिब राष्ट्रलाई प्राथमिकतामा राखिए मात्र कोरोना नियन्त्रण गर्न सकिने उनको भनाइ छ।

संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए।

टेड्रोसले खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए।

डब्लूएचओको कोभ्याक्स अभियानले गरिब राष्ट्रहरुलाई प्राथमिकतामा राखेर खोप वितरण गर्ने लक्ष्य लिएको छ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार