काठमाडौं । नेपालमा बेलायतबाट फर्केका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार केही दिनअघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरु मध्ये ६ वटा नमुनामध्ये ३ जनामा पुष्टि भएको हो ।उनीहरको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको थियो ।
मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना पुष्टि भएको हो ।तीन जना मध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भैसकेको र ६७ वर्षीय पुरुष पोजेटिभ नै भए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।
उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको पनि मन्त्रालयलेृ जनाएको छ ।
मन्त्रालयले जबसम्म रोगको भ्याक्सिन नेपालमा उपलब्ध हुँदैन त्यतिन्जेलसम्म सावधानी अपनाउनुपर्नेमा जोड दिँदै भीडभाडमा नजाने, जानुपरेपनि दुई मिटरको दुरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउनेलगायतका उपाय अपनाउन पनि आग्रह गरेको छ ।
