गोरखा । गोरखा नगरपालिका स्तरीय प्रथम वडाकप फुटसल प्रतियोगिताको उपाधी सतिपिपल क्लब जितेको छ । गोरखा नगरपालिका वडा नम्बर ९ को लक्ष्मीबजार क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै सतिपिपल क्लव बिजेता बनेको हो ।
बिजेता क्लवले नगद ५० हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र पाएको छ भने उपबिजेताले नगद २५ हजारमा चित्त बुझाउनुप¥यो । बिजेता र उपबिजेतालाई गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पुरस्कार बितरण गरेका हुन् ।
सतिपिपल फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा खिम गुरुङले ४ र किस्मत गुरुङले १ गोल गर्दै आयोजकलाई विजेता बनाएका थिए । त्यस्तै लक्ष्मीबजारका लागि आकास सुनार र अनिस श्रेष्ठले एक–एक गोलको योगदान दिए । खेलमा खिम गुरुङ उत्कृष्ट र धेरै गोल गर्ने खेलाडी घोषित भए भने गोरखा नगरपालिका वडा नम्बर १२ का युनिस कुमाल उत्कृष्ट गोल रक्षक घोषित भए ।
गत १ गतेदेखि सुरु भएको प्रतियोगिताको समापन गर्दै नगरप्रमुख पन्तले कोरोनाका कारण प्रभावित खेल क्षेत्र बिस्तारै तङ्ग्रिएको बताए । युवाहरुलाई सामाजिक भावनाको बिकास र खेल क्षेत्रमा प्रेरित गर्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उनले बताए ।
गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपल फुटबल क्लवका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षता पुरस्कार बितरण कार्यक्रम भएको हो । दलभञ्ज्याङ स्थित द ओसन क्लबको कृतिम घाँसे मैदानमा आयोजित प्रतियोगितामा १८ टिम सहभागी थिए ।