काठमाडौं । आज देखी सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कप्तान विनोद भण्डारीको आक्रामक ब्याटिङमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशविरुद्ध बलियो योगफल तयार पारेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८७ रनको योगफल तयार पारेको हो। गण्डकीले जितका लागि ५० ओभरमा २८८ रन बनाउनुपर्नेछ।
करियरकै पहिलो शतक प्रहार गरेका भण्डारीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मी बलियो योगफल तयार पारेको हो। कप्तान भण्डारीले लोकेश बमसँग मिलेर १ सय ३ रनको साझेदारी गरेका थिए।
७६ बलको सामना गरेका कप्तान भण्डारीले ९ चौका र ५ छक्का मद्दतमा १ सय ११ रनमा नटआउट रहे। बम ४२ रनमा आउट भए।
त्यसअघि ओपनर हरिकृष्णा झा र राजु रिसालले १८ दशमलव ४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। ४८ बलको सामना गरेका झाले १ चौका मद्दतमा १४ रन जोड्दा पवेलियन फर्के। ७१ बलको सामना गरेमा रिजालले ४५ रनको योगदान दिए। ४ चौका र १ छक्का प्रहार गरेका रिजाल बिपिन खत्रीको बलमा एलबीडब्लु धरापमा परे। रोहित पौडेल १०, भिम सार्की १५ रनमा आउट भए।
राजेश पुलामी र कप्तान विनोद भण्डारीले ७३ रनको साझेदारी गर्दै टोलीको इनिङ्स उकासेका थिए। गण्डकीका दिपेश खत्रीले ५२ बलको सामना गरेका पुलामीलाई ४ चौका मद्दतमा ३८ रन जोड्दा पुलामीले पवेलियन बाटो देखाउँदै साझेदारी तोडेका थिए।
गण्डकी प्रदेशमा लागि विपिन खत्री र विशाल पौडेलले समान २ विकेट लिए।