• बिहिबार, साउन २१ २०८३

औपचारिकता भूकम्प दिवश : पुनर्निर्माणका काम असरल्लै


शुक्रबार, माघ २ २०७७
785
Shares

गोरखा । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवश मनाईदैछ । १९९० साल माघ २ गते गएको बिनाशकारी भूकम्पको संझनामा हरेक वर्ष यो दिवश मनाउने गरिन्छ ।

२०७२ बैशाख १२ गते पुनः ठूलो भूकम्प गएपछि यो दिवशले अझै बढि महत्व पाएको देखिन्छ । तर भूकम्प गएको झण्डै ६ वर्ष हुनलाग्दा पनि पुनर्निर्माणको काम सकिएको छैन । हालसम्म निजि आवास पुनर्निमार्ण तर्फ ९० प्रतिशत घर बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाले जानकारी दिएको छ ।

७२ हजार ८२२ लाभग्राही रहेको यहाँ अहिलेसम्म ५९ हजार ६०७ घर निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्रवलीकरणको सूचीमा रहेका ४ हजार ८७२ घरधुरी पहिलो किस्ताको रकम मात्र बुझेका छन् । उनीहरु मध्ये अधिकाशंले पूर्ण लाभग्राहीको लागि दाबी गरिरहेका छन् । सर्वेक्षणमा नाम छुटेकाहरुको गुनासो छुट्टै छ । पुनरावेदन लगायत झण्झटले अनुदान प्रक्रियामा बाहिर रहेकाहरुको संख्या पनि उत्तिकै छ ।

सार्वजानिक पूर्वाधार पुनर्निर्माणको प्रगती पनि निराशाजक देखिन्छ । नेपालकै ऐतिहासिक गोरखा दरबार अहिलेसम्म बन्न सकेको छैन । भूकम्पले क्षतिग्रस्त बनाएपछि २०७४ मंसीरदेखि गोरखा दरबार पुनर्निर्माण सुरु गरिएको थियो । दरबार पुनर्निर्माणका लागि पचली सिवाको जेभीले २ वर्षको समयसिमा पाएको थियो । निर्धारित समयमा नसकिएपछि २ पटक म्याद थप्दा पनि अहिलेसम्म ६५ प्रतिशत पनि काम सम्पन्न नभएको गोरखा दरबार हेरचाह अड्डाले बताएको छ । अन्य मठमन्दिर, गुम्बा, बिहार, मस्जिदहरु पनि अहिलेसम्म पुनर्निर्माण नभएको सरोकारवालाहरुको गुनासो छ ।

जिल्लाका कतिपय विद्यालय भवन पुनर्निमाणको अहिलेसम्म सुरु समेत हुन सकेका छैनन् । ‘भूकम्प लगतै बेलायतका राजकुमारी ह्यारी आफै आएर टिएलसी बनाउन सहयोग गर्नु भयो । हामीले तत्कालै कक्षा सञ्चालन गर्न पायौं,’ प्रभातकिरण मावि लापुका प्रधानाध्यापक जिवबहादुर गुरुङले भने, ‘तर स्थायी भवन निर्माणका लागि भने ह्यारीले बनाएको स्कूल भनेर कसैले पनि हेरिदिएन । अहिलेसम्म हाम्रो विद्यालय नयाँ भवन बन्न सकेको छैन ।’ भूकम्पसँग जोडिएका अन्य संरचना निर्माणको अबस्था पनि उस्तै छ ।

केन्द्रबिन्दु बारपाकमा निर्माणाधिन भूकम्प स्मृती पार्क अझै सम्पन्न भएको छैन । गैरआवासीय नेपाली संघ एनआरएनएले लाप्राकको गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुना बस्तीको काम पनि भर्दगोल छ । ‘बाहिरबाट हेर्दा बस्ती बन्यो भन्ने देखिन्छ तर धेरै घरको काम सकिएको छैन,’ वडा अध्यक्ष राज गुरुङले भने, ‘उहाँहरुले घर बनाइदिन ढिलाई गर्दा सर्न चाहनेहरुलाई समस्या भएको छ ।’ खानेपानी, शौचालय, ढलनिकास, सडक जस्ता सार्वजानिक पूर्वाधार निर्माण पनि नभएको स्थानीयको गुनासो छ ।

केयर नेपाल र स्वाँरा संघन गाउँबिकास केन्द्रको साझेदारीमा निर्माण गरिएको खानेपानी आयोजना पनि उद्घाटन लगतै बिग्रिएको छ । यता बगुवाको मिलन बस्तीको अबस्था पनि उस्तै छ । विभिन्न गैरसरकारी संघ संस्थाको सहयोगमा विपन्न र असाहयहरुको लागि केही घर बनाइएपनि अधिकाशं घर बन्न नसकको वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले बताए ।

जिल्लामा रहेका स्वास्थ्य चौकी, सरकारी कार्यालय भवनहरु भने अधिकाश बनेपनि जिल्ला अस्पताल निर्माणाधिन अबस्थामा छ । पछिल्लो समय निर्माण कार्यमा भूकम्पीय सुरक्षा नअपनाउने क्रम पनि बढेको देखिन्छ । यस्तो अबस्थामा भूकम्प सुरक्षा दिवश मनाइरहदा जारी पुनर्निर्माणको काम यथाशिघ्र सम्पन्न गर्ने र अब बन्ने संरचनामा भूकम्पीय सुरक्षा मापदण्ड लागु गर्न कडाई नगर्ने हो भने हरेक वर्ष मनाइने दिवश औपचारिकतामा सिमित रहने निश्चित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार