गोरखा । धार्चे गाउँपालिकाले पालिका स्तरिय अस्पताल भवन शिलन्यास गरेको छ । बिहीबार एक कार्यक्रम गरी गाउँपालिकाको केन्द्र माछाखोलामा ५ शैयाको अस्पताल भवन शिलन्यास गरिएको अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
‘जग्गा प्राप्तीमा केही ढिलो हुँदा हामी एक साथ अस्पताल शिलन्यास गर्न सकेका थिएनौं,’ उनले भने, ‘ढिलै भएपनि भवन शिलन्यास भएको छ । आशा छ छिट्टै सम्पन्न हुनेछ ।’ अस्पताल निर्माणका लागि ५ रोपनी जग्गा उपलब्ध गराइएको छ । माछाखोला स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पतालमा रुपान्तरण गर्न लागिएको उनले बताए ।
७० लाख लागतमा बन्ने उक्त अस्पताल भवन यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गाउँपालिकाको लक्ष्य छ । हालसम्म एउटा पनि अस्पताल नरहेको उक्त क्षेत्रमा अस्पताल बन्ने भएपछि स्थानीय खुसी भएका छन् । अस्पताल नहुँदा सो क्षेत्रका जनता सदरमुकाम वा काठमाण्डौ धानु पर्ने बाध्यता छ ।
जग्गा यकिन गर्न नसक्दा आरुघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले अझै पालिका स्तरीय अस्पताल भवन शिलन्यास गरेको छैन । ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले गोरखामा ८ सहित देशभर एकैपटक ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माण गर्न लागेको हो ।
अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सिर्दिवास स्वास्थ्य चौकी, धार्चे गाउँपालिका माछाखोला स्वास्थ्य चौकी र भीमसेन थापा गाउँपालिकाको अश्राङ स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरण गर्न लागिएको हो ।
यसैगरी आरुघाट गाउँपालिकाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र, शहिद लखन गाउँपालिकाको घैरुङ स्वास्थ्य चौकी सिरानचोक गाउँपालिकाको जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र बारपाक सुलिकोट हुँडीफापमा अस्पताल बनाउने तयारी छ । ती मध्ये अजिरकोट, बारपाक सुलिकोट, चुमनुब्री र शहिद लखनले मंसिर १५ गते नै शिलन्यास गरिसकेका छन् ।
सदरमुकामको गोरखा नगरपालिकामा जिल्ला अस्पताल र पालुङटार नगरपालिकामा आँपपिपल सामुदायिक अस्पताल सञ्चालनमा छ । हालसम्म अस्पताल नरहेको गण्डकी गाउँपालिका भने यस पटक छुटेको छ । प्राविधिक कारण छुटेकाले त्यहाँ छिट्टै अस्पताल निर्माण सुरु गरिने स्वास्थ्य मन्त्रालय स्रोत दाबी गरेको छ ।