• शुक्रबार, साउन २२ २०८३

उत्सबको रुपमा मनाइयो गोरखामा ‘पृथ्वीजयन्ती’


मंगलबार, पुष २८ २०७७
875
Shares

गोरखा । विभिन्न कार्यक्रम गरी उत्सवका रुपमा २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । गोरखा नगरपालिकाकाे आयाेजनामा बर्तमान नेपालका निर्माता राष्ट्रिय विभूती तत्कालिन राजा पृथ्वीनारायण शाहको सम्झना गर्दै एकता दिवश मनाइएको हो ।

‘तत्कालिन समयमा जसरी पृथ्वीनारायण शाहले देश भर एकताको सन्देश प्रभाव गर्नु भएको थियो र यो बिशाल नेपाल निर्माण हुन पुग्यो,’ जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ्गले भने, ‘त्यसरी नै अब देशलाई समृद्धी र बिकासमा लैजानको लागि पनि हामी सबै एक हुनुपर्ने बेला आएको छ ।’

पछिल्लो समय पृथ्वीनारायण शाह र उनका सहयोगीहरुको योगदानलाई बिर्सने काम भएको भन्दै उनले दुखः व्यक्त गरेका छन । गोरखा नगरपालिकाको आयोजना र गोरखा उद्योग वाणिज्य संघको व्यवस्थापनमा भएको पृथ्वीजयन्ती विशेष कार्यक्रममा प्रा.डा राजाराम सुबदीले नेपाल एकिकरण र जनसहभागीता विषयेक कार्यपत्र प्रस्तुत गरेका थिए ।

‘बाहुन, क्षेत्री, मगर, गुरुङ, तामाङ, दमाई, कामी, सार्की, मुस्लिम लगायत तत्कालिन समय यो गोरखा राज्यमा रहेका सबै जनतालाई साथ लिएर एकिकरणको अभियान सुरु गरिएको देखिन्छ,’ उनले भने, ‘पृथ्वीनारायण शाहले कसैलाई पाखा कसैलाई काखा गरेनन्, अभियानमा साथ दिने राज्य माथि हमला गरेनन् । हमला गरेर जितेका राज्यमा पनि तत्कालिन राजा रजौटाहरुलाई नै साथमा लिएर काम गरे यो उनको महानता हो ।’

त्यसैले तत्कालिन नेपाल एकिकरणको कामलाई राज्य बिस्तार मात्र भन्न नहुने उनको तर्क छ । अहिले केही मानिसहरुले पृथ्वीनारायण शाह प्रति भ्रम फैलाउने काम गरेको भन्दै सुवेदीले इतिहासलाई खोज तथा अध्ययन गरी देखिएका भम्र चिर्र्न युवा पुस्ताहरुलाई आग्रह गरेका छन् । सो अबसरमा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले पृथ्वीनारायण शाहलाई सबैले श्रद्धा गर्नु पर्ने बताए ।

‘उहाँ गोरखाले मात्र होइन समग्र नेपालीले गर्व गर्ने ऐतिहासिक पात्र हो । उहाँकै कारण आज हामी गोरर्खाली भएका छौं, नेपाली भन्न पाएका छौं,’ उनले भने, ‘सोही कारण गोरखा नगरपालिकाले उहाँको योगदानको सम्मान गर्दै उत्सबको रुपमा पृथ्वीजयन्ती मनाउने गरेको छ ।’

पृथ्वीजयन्तीको अबसरमा गोरखा नगरपालिकाले सार्वजानिक बिदा समेत दिएको भन्दै उनले आगामी वर्ष देखि ऐतिहासिक एवं पर्यटन महोत्सवको रुपमा बिकास गर्दै लैजाने योजना समेत रहेको बताए । सोमबार गोरखा नगरपालिकाका बिभिन्न वडा तथा टोलहरुबाट आएका सांस्कृतिक झाँकीसहितको ¥यालीले निकालिएको थियो ।

बिभिन्न महिला तथा आमा समूह, टोल विकास संस्था, साँस्कृतिक समूह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले आफ्नो भेषभुषा सहित नगर परिक्रमा गरेको थियो । त्यसपछि गोरखा संग्रहालय स्थित पृथ्वीनारायण शाहको शालिक रहेको ठाउँमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नेपाली काँग्रेसका नगर सभापति चन्दनबाबु खत्री, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ लगायतले पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए ।

पृथ्वी जयन्तीको अबसरमा गोरखा नगरपालिका सहित पालुङटार नगरपालिका, सिरानचोक, भीमसेन थापा, अजिरकोट गाउँपालिकामा समेत सार्वजानिक बिदा दिइएको थियो ।

तस्विर : साउण्ड वेब गोर्खा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार