गोरखा । पृथ्वीजयन्तीका अवसरमा भोली सोमबार सार्वजानिक विदा हुने भएको छ ।
राष्ट्रिय एकता दिवश तथा २९९ औं पृथ्वी जयन्तीका अवसरमा गोरखाको पाँच स्थानीय तहमा सार्वजानिक बिदा हुने भएकाे हाे ।
पृथ्वीजयन्ती दिन गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र भिमसेन थापा गाउँपालिकामा सार्वजानिक विदा दिने पालिकाहरुले निर्णय गरेको छ ।
सोमबार सार्वजानिक विदा दिइएका नगरपालिका तथा गाउँपालिकामा पालिकास्तरका कार्यालयहरुको सेवा बन्द गरी बिभिन्न कार्यक्रम आयोजना गर्ने तयारी रहेको बताइएको छ ।
पृथ्वी जयन्तीकै अवसरमा गोरखा नगरपालिकाले आज सदरमुकाम सहित १४ वटै वडामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ भने भोली र पर्सि समेत गरी ३ दिने कार्यक्रम गर्ने तयारी गरिरहेको नगरप्रमुख राजनराज पन्तले बताए ।
जसमा भोली बिहान गोरखा नगरपालिका ५ को पस्लाङ चौतारादेखि बजार क्षेत्र हुदै गोरखा संग्रहालय परिसमा रहेको पृथ्वीनारायण शाहको शालिकमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
त्यस्तै बेलुका सोही क्षेत्रमा दिपप्रज्वलन र मंगलबार नेपाल एकिकरणमा पृथ्वीनारायण शाहको भुमिका बिषयक माबि स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख पन्तले बताए ।