• बुधबार, साउन २० २०८३

एकिकरण मार्ग खोज्दै गोरखाबाट सुरु भयो सेनाको पदयात्रा


मंगलबार, पुष २१ २०७७
1.5K
Shares

मेलिना बराम

गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अबसरमा पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखा—काठमाण्डौ पदयात्रामा निस्किएको छ । मंगलबार बिहान पौने ९ बजे गोरखा दरबारको हनुमान भञ्ज्याङबाट सेनाको टोली त्यसतर्फ प्रस्थान भएको हो ।

नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर नेपाली सेनाको टोली हनुमान भञ्ज्याङबाट हिँडेको छ । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी भएका छन् ।

गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुादै काठमाडौं पुग्ने रणसिंह दल गणका गणपती उज्वल केसीले बताए । तत्कालीन राजा पृथ्वीनारायण शाहाले नेपाल एकिकरण गर्दा हिँडेको बाटो भएर यात्रा गर्दै यात्रामा सहभागीहरु पुस २६ गते काठमाण्डौँ पुग्नेछन् र २७ गते हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिबस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

गणपती केसीका अनुसार गोरखाबाट हिँडेको यो टोली गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट पुगेर धादिङको देविदत्त गणलाई टर्च र झण्डा हस्तान्तरण गर्नेछ । उक्त टोलीले नुवाकोटको जबरजंग गणलाई बुझाउछ र काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्छ ।

नेपाली सेनाका पृतनापति विनय विक्रम राणा, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई भिमसेन थापा गाउँपालिका उपप्रमुख बिनु वाग्लेले संयुक्त रुपमा सहसेनानी थापालाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् । पदयात्रामा सहभागी टोलीलाई मंगलबार एक कार्यक्रमका बिच टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको हो ।

यात्रामा सहभागीलाई शुभकामना तथा बिदाई गर्दै कार्यक्रममा बोल्दै पृतनापति राणाले राष्ट्रिय एकताको सन्देशका लागि पनि पदयात्रा गरिएको बताए ।

गोरखा नगरपालिकाका नगरप्रमुख पन्तले इतिहासको संरक्षणका लागि सेनाले सुरु गरेको यो कार्यलाई सबै स्थानीय तहले सहयोग गर्नुपर्ने र गरेको बताएका छन । ‘इतिहास मेटेर मेटिँदैन’ उनले भने ‘पदमार्गलाई ब्यवस्थित गर्न सेनालाई स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ, गर्न तयार छ ।’ इतिहासको संरक्षण र जर्गेनाका लागि सेनाले गरेको कामको प्रशंसा गर्दै उनले गत वर्षबाट गोरखा नगरपालिकाले पनि पृथ्वी जयन्ती मनाउन थालेको जानकारी गराए ।

एकीकरण मार्ग प्रवर्द्धनका लागि जिल्लाहरु बिच आवश्यक समन्वय हुनुपर्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले बताए । प्रदेश, स्थानीय तह, र संघ सरकारले पदमार्गको संरक्षण र बिकासका योजना बनाउनुपर्ने उनले बताए ।

भिमसेन थापा गाउँपालिका उपप्रमुख वाग्लेले पदमार्गमा पाटी, पौवा पर्ने, कोट, किल्ला, संरक्षणमा गाउँपालिकाले ध्यान दिएको बताईन । कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापाले पदमार्गमा पर्ने पाटी, पौवा, चौताराहरुको संरक्षणको काममा पनि नेपाली सेनालाई अगुवाइ लिन आग्रह गरे ।

यात्राको क्रममा टोलीलाई बिभिन्न स्थानीय तहमा स्वागतका कार्यक्रमहरु पनि राखिएको गणपती केसीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार