गोरखा । आगामी फागुन ७ गते लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गराउने उदेश्यले दौड आयोजना गरिएको आयोजक लिगलिग भिजेल स्र्पोटका अध्यक्ष संजीव रानाले जानकारी दिए ।
‘ऐतिहासिक पर्यटकीय सम्भावना बोकेको लिगलिग क्षेत्रको समग्र बिकास र समृद्धिको लागि साहासिक खेल र पर्वतीय पर्यटनको मााध्यमबाट देश विदेशमा चिनाएर स्थानीय समुदायको उद्यमशिलता बिकास गर्नु कार्यक्रमको मुख्य उदेश्य हो,’ उनले भने, ‘लिगलिगकोटबाट सिरानचोक र राइनाश गाउँपालिकाको केही भुभाग समेत परिक्रम गरी पुनः लिगलिगकोटमा पुगेर दौड सकिनेछ । यस आसपासमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार होस भन्ने पनि हाम्रो चाहना छ ।’
५५ किलोमिटर लामो साइकल दौडलाई तीन चरणमा विभाजन गरिएको छ । खुल्ला, गण्डकी प्रदेश स्तरीय र पालुङटार नगर स्तरीय गरी महिला र पुरुष १६ जनालाई पुरस्कार वितरण गरिने छ । खुल्ला तर्फ पहिलो हुने २५ हजार, दोश्रो हुनेले २० हजार, तेश्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार नगद पुरस्कार मेडल पाउनेछन् ।
पाँचौ, छैटौं, सातौं, आठौं र नवौं गरी गरी क्रमश, ५ हजार, २ हजार ५००, २ हजार र १५÷१५ सय पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । गण्डकी प्रदेश स्तरीय विजेताले ५ हजार, दोश्रो हुनेले ३ हजार र तेश्रो हुनेलाई २ हजार ५०० पुरस्कार प्रदान गरिनेछ । पालुङटार नगरपालिका भित्रका सहभागी हुने मध्येबाट पनि पहिलो हुनेलाई २ हजार ५ सय, दोश्रो हुनलाई २ हजार र तेश्रो हुनेले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने रानाले बताए ।
‘प्रतियोगितामा भाग लिन चाहानेहरुले अनलाईन मार्फत दर्ता गर्न सक्नुहुनेछ,’ उनले भने, ‘उहाँहरुको खानेबस्ने व्यवस्था भने आयोजकले नै मिलाउँछ । हामी होमस्टे र कोटमा टेण्ट टाँगेर उहाँलाई राख्नेछौं ।’
दर्ता शुल्क भने नेपालीका लागि १ हजार ५००, सार्क मुलुकका लागि ५ हजार र अन्य देशका लागि १० हजार तोकिएको छ । दर्ता भने माघ २७ गते सम्म गरिसक्नु पर्नेछ । दौडको समापन पछि सोरठी, चुड्का, लाखे, लोक दोहोरी तथा अन्य सांस्कृतिक कार्यक्रम समेत गरिने उनले बताए ।