गोरखा । बिरेनचोक सामुदायिक होमस्टेले कार्यालय भवन निर्माण गर्ने भएको छ । बुधबार एक कार्यक्रमका वीच गोरखा नगरपालिका वडा नम्बर १० मा सञ्चालित होमस्टेको कार्यायल भवन शिलन्यास गरिएको छ ।
भवन शिलन्यास गर्दै नगरप्रमुख राजनराज पन्तले कला संस्कृतिको जर्गेना गर्दै पर्यटन प्रर्वद्धन गर्ने गोरखा नगरपालिकाको मुख्य योजना रहेको बताए । ‘गोरखा ऐतिहासिक पर्यटकीय नगरी हो । हामीले पर्यटनलाई मुख्य जोड दिएका छौं,’ उनले भने, ‘तपाइँहरुले होमस्टे निर्माण गरेर जुन उत्साह देखाउनु भएको छ । यसबाट हामी सबै खुसी भएका छौं ।’
मगर समुदायको बाहुल्यता रहेको बिरेनचोकमा होमस्टे संचालन भएसँगै कला .सस्कृति, भेषभुष, भाषा शैलीको जगेर्ना हुने उनको विश्वास छ । होमस्टेमा आएका पाहुनका कारण त्यहाँका सर्वसाधरणको आयआर्जनमा वृद्धि हुने नगरप्रमुख पन्तले बताए । यदी भवन निर्माण लागि रकम अपुग परेकोको खण्डमा नगरपालिकाले उपलब्ध गराउने उनले प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष देबिबहादुर बस्नेतले होमस्टे संचालन लागि प्रदेश सरकार, गोरखा नगरपालिका र अन्य व्यक्तिहरुबाट निरन्तर सहयोगको अपेक्षा राखेको बताए । गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट प्राप्त १० लाख, तारा गाउँबिकास समितिबाट ६ लाख गरी १६ लाख लागतमा भवन निर्माण गर्न लागिएको उनको भनाई छ ।
बिरेचोक होमस्टेका लागि भने अहिलेसम्म २२ लाख भन्दा बढिको सहयोग प्राप्त भइसकेको अध्यक्ष बस्नेतले बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले मौलिक खानपान, संस्कार र सस्कृतिलाई जोड दिन होमस्टे संचालकहरुलाई सुझाव दिएका छन् ।
होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष सम्झना रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, टोल बिकास समिति, समाजसेवी, व्यावसायी, नागरिक समाज सहित ४३ जनाको उपस्थिति रहेको थियोे ।