• मंगलबार, साउन १९ २०८३

राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजन एड प्याड प्रालिलाई


बुधबार, पुष १५ २०७७
600
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजनको अधिकार एड प्याड प्रा.लि. लाई बिक्री गरेको छ। एएनएस ग्रुप अफ कम्पनिज अन्तर्गत रहेको एड प्याडले राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजनका लागि अधिकार पाएको हो।

जर्सी प्रायोजनसम्बन्धी सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एड प्याडका अध्यक्ष सुदिप थापाले सोमबार हस्ताक्षर गरेका छन्। सम्झौता १५ महिनाको लागि रहने क्यानले जनाएको छ। एड प्याड मिडिया मार्केटिङ कम्पनी हो र उसले स्पोनसर सिप र बिक्री गर्ने सम्बन्धी काम गर्नेछ।

सम्झौतापछि अब राष्ट्रिय क्रिकेट टिमको जर्सीमा प्रायोजन खोज्ने र बिक्री गर्ने अधिकार एड प्याडले पाएको छ। क्यान आईसीसीको निलम्बनमा परेदेखि राष्ट्रिय टिम प्रायोजकविहीन थियो।

जर्सी प्रायोजनको अधिकार बेचेपछि यसले क्यानलाई केही राहत भएको छ। एड प्याडले अब १५ महिनासम्म राष्ट्रिय टिमले प्रतियोगिताका बेला खेल्ने, प्रशिक्षण र टुर खेल्न जाँदा लगाउने जर्सीका लागि प्रायोजन खोज्नेछ।

सम्झौतापछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले २५ वर्षको अनुभव भएको एएनएस ग्रुपसँग सहकार्य गर्न पाउनु क्यानको लागि उत्कृष्ट दिन रहेको बताए।

‘यस सहकार्यले सकारात्मक सन्देश दिएको छ र क्यान ट्रयाकमा फर्किएको र व्यवसायको लागि खुला भएको छ ‘ उनले भने।

चन्दले यस सहकार्यबाट फण्ड मात्र संकलन हुने नभई क्रिकेटको प्रबर्द्धनमा पनि सहयोग पुग्ने बताए।

यस्तै एड प्याडका अध्यक्ष सुदिप थापाले क्यानसँग सहकार्य गर्दै राष्ट्रिय क्रिकेट टिमसँग काम गर्ने अवसर पाउँदा खुशी व्यक्त गरे। उनले यो व्यावसायिक यात्रा मात्र नभई क्रिकेट विकासमा सहयोग पुर्याउने पनि बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार