काठमाडौं । नेपालको त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघ (एएफसी)को क्लब लाइसेन्स प्राप्त गरेको छ ।
एएफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० को मापदण्ड पूरा गरेपछि त्रिभुवन आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
सो लाइसेन्स प्राप्त गरे पश्चात आर्मी फुटबल क्लबले एएफसी कप क्लब अन्तर्गत संचालन हुने व्यवसायिक फुटबल प्रतियोगिताहरुमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।
एएफसीको फर्स्ट इन्स्ट्यान्ट बडीले यसअघि क्लब लाइसेन्स दिन अस्वीकार गरेपछि आर्मीले द अपिल बडीमा निर्णय पुनर्विचार गर्न निवेदन दिएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै अपिल बडीले क्लब लाइसेन्स दिएको एन्फाले जनाएको छ।
यसअघि एफआईबीले नोभेम्बर ३० मा नेपालका १३ वटै ए डिभिजन क्लबको निवेदन अस्वीकृत गरेको थियो। आर्मीले भने एएफसीको सबै नियम र गाइडलाइन मानेर व्यावसायिक फुटबल क्लबमा रुपान्तरण भएपछि उसलाई लाइसेन्स दिइएको हो।
