गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा दुई वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । वडा नम्बर ५ को श्रृगीखोला र कोयाखोलामा झोलुङ्गे पुल निर्माण गरिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ ।
नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्वीस सरकारको शसर्त अनुदान बापत प्राप्त १ करोड ९८ लाख ५० हजार ४८६ रुपैयाँले उक्त दुईवटा पुल निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।
श्रृगी खोलाको पुल ९९ लाख ५४ हजार २५३ रुपैयाँ १२ पैसा र कोयाखोला पुल ९८ लाख ९६ हजार २३३ रुपैयाँ लागतमा निर्माण गरिएको उनले बताए । उपभोक्ता समिति मार्फत निर्माण गरिएको श्रृगी पुल ११० मिटर र कोया खोला पुल १२० मिटर लामो छ ।
दुवै पुलको एक कार्यक्रम बिच अध्यक्ष गुरुङ र श्रृगी गुम्बाका प्रमुख लामा टिल्कु कर्म लामाले उद्घाटन गरेका छन् । पुल बनेसंगै श्रृगी गुम्बा जानको लागि ३ घण्टाको बाटो छोटिएको छ ।
जसबाट उत्तरी गोरखाका सर्वसाधारण त्यहाँ पुग्ने पर्यटकका लागि यात्रा सहज हुने गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ्गको विश्वास छ ।
श्रृगी खोलामा पुल बनेपछि अब श्रृगी गुम्बा जानका लागि ३ घण्टा कम समय लाग्ने गुम्बाका लामा टिल्कु कर्म लामाले बताए ।
कोया खोला माथि बनेको पुलले भने साविक प्रोक, ल्हो र सामागाउँ अर्थात चुमनुब्री गाउँपालिकाको ४, २ र १ मा आउजाउ गर्न सजिलो हुने वडा नम्बर ५ का वडाध्यक्ष सोनाम ग्याल्जेन लामाले बताए । यो पुल बनेसंगै मनास्लु पदमार्गमा जाने तथा लार्केपास गर्ने पर्यटकलाई समेत सहज हुने बिश्वास लिइएको छ ।