गोरखा । धार्चे गाउँपालिकाले व्यवसाय गर्न चाहनेहरुलाई सहुलियतको ऋण उपलब्ध गराउने भएको छ ।
सिभिल बैंकसँगको साझेदारीमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता गरिएको छ । ‘मलाई जहाँसम्म लाग्छ यो कार्यक्रम ल्याउने हामी नै पहिलो गाउँपालिका हुनुपर्छ,’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने, ‘काम गर्न चाहानेहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण पाउनु, यो भन्दा ठूलो अबसर के हुन सक्छ ?’ अध्यक्ष गुरुङ, बैकका सिइओ गोबिन्द गुरुङ र उद्योग वाणिज्य संघ धार्चे इकाईका प्रतिनिधि चारमायाँ गुरुङ वीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरिएकोे धार्चे गाउँपालिकाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ अनुसार गाउँपालिका क्षेत्रका कृषि एवं पशुपंक्षीजन्य तथा अन्य क्षेत्रका व्यवसाय प्रबद्र्धन गर्नका लागि सहयोग पु¥याउने उदेश्यले उक्त कार्यक्रम ल्याइएको हो ।
गाउँपालिकाको नीति अनुसार व्यवसायी बन्न चाहने वा व्यवसाय सञ्चालन गरिरहेका र योग्यता पुगेका उद्यमीहरुलाई व्याज अनुदानमा ऋण प्रवाह गरिनेछ । ‘कर्जाका विभिन्न शीर्षकहरु छन्, व्यवसायीक कृषि कर्जा तथा पशुपालनमा बढिमा ५ करोडसम्म, शिक्षित युवा रोगजार कर्जामा बढिमा सातलाख, बिदेशबाट फर्केर यहाँ केही गरेका युवाहरुलाई परियोजनाका आधारमा बढिमा १० लाखसम्म उपलब्ध गराउन सकिनेछ,’ उनले भने ‘महिला उद्यमीहरु कोही आउनुहुन्छ भने बढिमा १५ लाखसम्म र दलित समुदाय व्यवसाय कर्जा भनेर बढिमा १० लाखसम्म ऋण उपलब्ध गराउने सकिनेछ ।’
व्यसायीक शिक्षा अध्ययन गर्न चाहानेलाई पनि ५ लाख ऋण उपलब्ध गराइने उनले बताए । यसैगरी भूकम्प पिडितहरुलाई निजि आवास निर्माणका लागि ३ लाख ऋण समेत दिने समझदारी पत्रमा उल्लेख छ ।
यसले स्वरोजगारीको अवसर सिर्जना गर्नुका साथै उद्यम प्रबद्र्धन गर्न, विदेशबाट फर्केका युवाहरुले आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, जनजाति तथा दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाती, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष सहयोग पुग्ने विश्वास लिइएको छ ।
‘हामी केही दिन भित्र सूचना जारी गरी ऋण आवश्यक भएकाहरुसँग आवेदन माग्छौं,’ अध्यक्ष गुरुङले भने, ‘प्राप्त निवेदनहरुलाई बैंक र गाउँपालिकाका प्रतिनिधिहरु रहेको समितिले छनौट गरी कर्जा प्रवाहका लागि सिफारिस गर्छ ।
त्यसका आधारमा उहाँहरुले ऋण पाउनुहुन्छ ।’ कार्यक्रममा बोल्दै बैकका सिइयो गोबिन्द गुरुङ्गले धार्चे जस्तो पर्यटकीय सम्भावना भएको ठाउँमा लगानी गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । आइतबार पुर्णिमा परियोजनाको सहजिकरणमा सम्झौता कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फुलमायाँ गुरुङ, सिभिल बैकका कर्जा प्रमुख युवराज गुरागाई, गण्डकी प्रदेश प्रमुख समिर केसी लगायतको सहभागीता रहेको थियो ।